काठमाडौँ, २१ फागुन । संयुक्त मधेशी मोर्चाभित्रको विवादका बाबजुद एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले वार्तामा बस्ने निर्णय गरेको छ ।
एमाओवादीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहीबार बिहान बसेको ३० दलीय गठबन्धनको बैठकले सत्तापक्षसँग एकपटक वार्तामा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाले पटक–पटक वार्ताका लागि आह्वान गर्नुभएको र अनौपचारिक कुराकानीमा सहमतीय प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएका कारण वार्ताका बस्न तयार गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । वार्ता सफल नभए यही फागुन २६ गते बस्ने मोर्चाको बैठकले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।
‘शङ्काको सुविधा’ दिँदै औपचारिक वार्ता गर्ने सर्वसम्मत निर्णय गरिएको हो । प्रवक्ता सिंहले भन्नुभयो, “अहिले जनतामा चौतर्फी आन्दोलनको माग छ, आन्दोलन पनि सहमतिका लागि दबाब दिनकै लागि हो, सहमति हुन्छ भने औपचारिक वार्ता गरौँ भन्ने हाम्रो निष्कर्ष हो ।”
बैठकमा मोर्चाका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भएका अलग–अलग अनौपचारिक वार्ताबारे जानकारी गराउनुभएको थियो । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइराला र प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।
तर, मधेशी मोर्चामा आबद्ध मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने वार्ताको विपक्षमा उभिनुभएको थियो । बहुमतीय प्रक्रिया खारेजी वा सहमतिको विश्वासिलो वातावरण नबनेकाले आन्दोलनलाई प्राथमिकता दिनुपर्ने उहाँको अडान थियो । “वार्ताको काम तपाईंहरू नै गर्नुहोस्” भन्दै अध्यक्ष यादव बैठक औपचारिक रुपमा सकिनुअघि नै बाहिरिनुभएको थियो ।
मोर्चाको विरोधका बीच गत माघ ११ गते संविधानसभाको बैठकले प्रस्ताव (प्रश्नावली) समिति गठन गरी संविधान निर्माणको प्रक्रिया सुरु गरेपछि सत्तापक्ष र विपक्षबीच संवाद टुटेको थियो ।
















प्रतिक्रिया