
रोल्पा, ९ माघ । प्रहरी महानिरीक्षक खनालले समाजिक विकृति विसंगतिलाई सरोकारवाला सबै पक्ष मिलेर अन्त्य गर्नुपर्ने बताए । खनालले यस्ता कुरीतिलाई त्याग्न सबैलाई आह्वान समेत गरे ।
कानून सबैका लागि समान हुने चर्चा गर्दै महानिरीक्षक खनालले कानून भन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानूनी दायरामा ल्याउने बताए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै खनालले उक्त कुरा बताएका हुन् । उनले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गरे ।
समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गरे ।
विभिन्न स्थानमा नेपाल प्रहरीको अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबै पक्ष मिलेर नवनिर्मित भवनको संरक्षण गर्नुपर्ने समेत बताए ।
समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय प्रहरी साझेदारी”को अवधारणा ल्याएको चर्चा गर्दै उनले उक्त अवधारणा अन्तर्गत विभिन्न जनचेतनमूलक कार्यक्रम संचालनको लागि नागरिक समाजसँग हातेमालो गर्दै आगाडि बढेको बताए ।
रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी वरीष्ठ उपरीक्षक नर बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।
साथै कार्यक्रममा समुदाय प्रहरी साझेदारी वडा स्तरिय समितिका संयोजक तथा रोल्पा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नबराज आचार्य र संचारकर्मीको तर्फबाट काशिराम डाँगीले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्र बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा प्रहरी निरीक्षक ई. दिपक केसीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट कूल ४ करोड २४ लाख ३३ हजार ६ सय ८१ रुपैयाँ ९२ पैसा लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया