९ मंसिर २०८३, बुधबार

चार सन्तान जन्मेपछि हराएको छोरो फर्किंदा…

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, ८ माघ । १२ बर्ष अघि पत्नी लक्ष्मी र एउटा मात्रै सन्तान ७ बर्षिय छोरो सन्तोषलाई लिएर अमरबहादुर सुनार रोजगारीका लागि भारततिर लागे ।

बाँके राप्ती सोनारी–४ का अमरबहादुरको आर्थिक अवस्था नाजुक भएपछि परिवारका सबै सदस्य बोकेर ०६४ मा रोजगारीको खोजी गर्दै रुपैडिया नाकाबाट भारतको लुधियाना पुगे ।

सोही बेला एक मात्र सन्तान सन्तोष रेल चढ्ने क्रममा हराए । एक मात्र सन्तान हराउँदा होस् हवास् रहेन । एकातिर आर्थिक अवस्था विग्रिँदा भत्किएको मन, एक मात्र सन्तान हराउँदा पहिरो गए जस्तो भयो ।

एक दिन होइन, दुई दिन होइन पाँचौं बर्षसम्म सन्तान नभेटिएपछि सन्तोषको माया मारे । दम्पत्तीले भारतमा रोजगारी सुरु गरे, जीवनलाई नयाँ शिराबाट सुरु गर्दा चार सन्तान जन्मिए । ‘लगभग हामीले सन्तोषको माया मार्यौं’, दम्पत्ती सुनाउँछन् ।

तर लुधियानामा रहेकै बेला अमरबहादुरका लागि एउटा खुसीको खबर सुनाइयो ।

‘छोरो भेटियो, नेपाल आउनुस् ।’

दम्पत्ती दंगदास भए, धेरैचाहिँ छक्क परे । छोरो जुन स्टेशनबाट हराएको हो त्यहिँ आउला कि भन्ने आशको त्यान्द्रोमा अन्यत्र रोजगारीमा गएका थिएनन् दम्पत्ती ।

हराएको १२ बर्ष पछि मंगलबार रुपन्देही जिल्ला प्रहरी कार्यालयमा भेट भएपछि दम्पत्तीको अनुहारमा खुशीको भाव प्रस्ट देखिन्थ्यो ।

सन्तोषकी आमा लक्ष्मी भन्छिन्,‘हामी छोरा आउने सानो आशमा त्यहिँ बसेर काम गरिरहेका थियौं । रेलमा चढ्दा हराएको छोरो रेल चढेरै आउला भन्ने आश थियो । तर, यहाँ भेटियो । खुशी छु ।’

सन्तोष सानै उमेरमा हराउँदा कतिपय ठाउँमा हन्डर खाएको पत्तो लाग्यो । सेक्युरिटी गार्डको काममा रहेका अमरबहादुर भन्छन्,‘कति दुख पायो होला भन्ने चिन्ताले सताइरहन्थ्यो ।’

हराएको छोरा भेटाउने काम मानव कल्याण मित्र मञ्चले गरेको थियो । भारत बाट उद्धार गरी सन्तोषलाई नेपाल ल्याएको थियो । मंचका अध्यक्ष दुर्गाप्रसाद अर्यालका अनुसार मंचले २०१८ जुलाई २१ तारिखमा भारतको उत्तर प्रदेश देवरिया संरक्षण गृहबाट उद्दार गरी  सन्तोषलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेमकुमार थापाका अनुसार १८ महिना अघि नेपाल ल्याउँदा सन्तोषको परिवार फेला परेको थिएन । उनले भने,‘उनको परिवारको खोजी जारी राखेका थियौं, त्यसबेलासम्म कोटिहवाको नेपाल अभिनाश अनाथ आश्रममा राखिएको थियो ।’

सुनार दम्पती आश्रममा आउँदा दम्पतीले खुट्टामा पोलेको टाटो र टाउकोमा घाउखत छ भनेपछि हेर्दा १२ बर्ष पछि भेटिएका सन्तोषको पहिचान खुल्यो र परिवारलाई जिम्मा लगाइयो ।