९ मंसिर २०८३, बुधबार

‘महाधिवेशनले नयाँ ऊर्जा थपेको छ, अब जनताको भरोसा जित्नुपर्छ’ : ललित श्रेष्ठ (अन्तर्वार्ता)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्र नयाँ नेतृत्व, युवा सहभागिता, आन्तरिक एकता र आगामी निर्वाचनको तयारीबारे बहस सुरु भएको छ ।

महाधिवेशनले पार्टीमा ल्याएको ऊर्जा, कांग्रेसभित्र देखिएको दुईधार, सरकारको कार्यशैली तथा मोरङको सांगठनिक अवस्थाबारे नेपाली कांग्रेस मोरङका जिल्ला सचिव एवं आगामी जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी ललित श्रेष्ठसँगको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनपछि तल्लो तहमा कस्तो गतिविधि भइरहेको छ र यसले पार्टी तथा आम जनतामा कस्तो सन्देश दिएको छ ?

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सम्पन्न भएको आठ महिनाभित्र गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको छ । यसले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह थपेको छ । महाधिवेशनमा समाजका विभिन्न तह र तप्काका प्रतिनिधिको सहभागिता रह्यो ।

जेनजी पुस्ता, पेसागत समूह, आदिवासी, जनजाति तथा दलित समुदायको प्रतिनिधित्वले पार्टीलाई थप समावेशी बनाएको छ । कार्यकर्तामा ‘अब कांग्रेस जाग्नुपर्छ, कांग्रेसले केही गर्छ र अघि बढ्छ’ भन्ने भावना देखिएको छ । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिएको अनुभूति भएको छ । यही उत्साहका साथ आगामी स्थानीय तथा प्रदेश तहका निर्वाचनमा जनतामाझ जान कार्यकर्तालाई प्रेरणा मिलेको छ ।

१५औँ महाधिवेशनमा युवा प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिएको देखियो । पुराना नेताको योगदान र अनुभवलाई सम्मान गर्दै युवालाई नेतृत्वमा ल्याउने प्रयासलाई कसरी लिनुभएको छ ?

नेपाली कांग्रेसले यसपटक युवालाई बढी प्राथमिकता दिएको छ । लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका, त्याग र समर्पण गरेका अग्रज नेताको योगदान र अनुभवलाई सम्मान गर्दै युवाको जोसलाई पनि अघि बढाइएको छ ।

महाधिवेशनमा युवा पुस्ताको राम्रो प्रतिनिधित्व भएको छ । यसले कांग्रेसभित्रका युवालाई मात्र होइन, पार्टीबाहिर रहेका युवालाई पनि सकारात्मक सन्देश दिएको छ । समाज र पार्टीमा योगदान गरेका अग्रजको अनुभव तथा सल्लाह लिँदै युवालाई नेतृत्वमा अघि बढाउने प्रयास राम्रो सुरुआत हो । यसले कांग्रेस युवालाई समेट्न र अग्रजलाई सम्मान गर्न तयार छ भन्ने सन्देश दिएको छ ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पनि युवाको असन्तुष्टिको अभिव्यक्ति थियो । पार्टीले पहिले नै युवालाई पर्याप्त स्थान दिएको भए त्यस्तो अवस्था आउँदैनथ्यो कि ?

जेनजी आन्दोलन हुनुका पछाडि धेरै कारण छन् । विगतमा शासनसत्तामा रहँदा हाम्रा नेताबाट पनि केही कमजोरी भएका हुन् । बाह्य शक्तिको चलखेल भएको भन्ने आवाज पनि उठिरहेको छ । देशमा छिटो परिवर्तन होस् भन्ने युवाको चाहना र त्यसअनुसार काम हुन नसक्नु, बेथिति बढ्नुजस्ता कारणले युवामा असन्तुष्टि र आक्रोश थियो । आन्दोलन त्यसैको अभिव्यक्ति हो भन्ने मलाई लाग्छ ।

कांग्रेसमा पहिले पनि युवाको प्रतिनिधित्व थियो, अहिले अझ विशेष रूपमा युवालाई समेटिएको छ । तर पार्टीमा युवालाई समेट्दैमा जेनजी आन्दोलन हुँदैनथ्यो भन्ने निष्कर्ष निकाल्न मिल्दैन । आन्दोलनका घटनालाई पनि गम्भीर रूपमा समीक्षा गर्नुपर्छ । आन्दोलनका क्रममा ऐतिहासिक धरोहर र सार्वजनिक सम्पत्ति ध्वस्त भए, आफ्नै नागरिकमाथि साङ्घातिक हमला भए । यस्ता गतिविधिले देशलाई फाइदा पुर्यायो कि पुर्याएन भन्ने विषयमा पनि पुनर्विचार गर्न आवश्यक छ ।

विशेष महाधिवेशनपछि कांग्रेसमा दुई धार देखिएको छ । १५औँ महाधिवेशन सम्पन्न भइसक्दा पनि पार्टीभित्र समानान्तर गतिविधि भइरहनुलाई कसरी हेर्नुभएको छ ?

विशेष महाधिवेशनको माग लामो समयदेखि उठिरहेको थियो। पार्टी विधानमा विशेष महाधिवेशनको माग भएपछि निश्चित समयभित्र बोलाउनुपर्ने व्यवस्था भए पनि तत्कालीन नेतृत्वले त्यसतर्फ पर्याप्त चासो नदिएपछि विशेष महाधिवेशन सम्पन्न भएको हो । त्यसपछि पार्टीभित्र दुई धार देखिएको छ । यो नेपाली कांग्रेसका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

अहिले युवा पुस्ताको नेतृत्व आएको छ । मूल धारभन्दा बाहिर रहनुभएका अग्रज नेताहरू हाम्रा लागि आदरणीय हुनुहुन्छ । उहाँहरूले पार्टी स्थापना र लोकतन्त्र प्राप्तिका लागि ठूलो योगदान गर्नुभएको छ । उहाँहरूको योगदानलाई हामीले सम्मान गर्नुपर्छ ।

मलाई विश्वास छ, केही समयपछि उहाँहरूले पनि १५औँ महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गरेर पार्टीको मूल धारमा फर्कनुहुनेछ । वर्तमान सभापति गगन थापाले पनि असन्तुष्ट नेताहरूसँग संवाद गरी उहाँहरूलाई पार्टीमा समेट्ने प्रयास गर्नुभएको छ । स्थानीय तहको निर्वाचनअघि कांग्रेस एकढिक्का भएर अघि बढ्ने विश्वास लिएको छु ।

पार्टीभित्र समानान्तर गतिविधि भइरहँदा विधान र विधिअनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवाज पनि उठेको छ । यसबारे तपाईंको धारणा के छ ?

अहिले केन्द्रीय समितिले निर्वाचन कार्यालयमा पार्टीसम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइरहेको छ । त्यसपछि आवश्यक कानुनी प्रक्रियामा जाने विषय पनि उठेको छ । एउटै चुनाव चिह्न र झण्डा भएको दुईवटा पार्टी हुनै सक्दैन । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा सोही चुनाव चिह्न र झण्डा प्रयोग गरेर अर्को अधिवेशन गर्न मिल्ने अवस्था हुँदैन । त्यसैले केन्द्रीय समितिले यस विषयमा उपयुक्त कानुनी बाटो अपनाउनेछ भन्ने मलाई लाग्छ ।

आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसको अवस्था कस्तो देख्नुहुन्छ ? विशेषगरी मोरङमा पार्टीको तयारी कस्तो छ ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडादेखि क्षेत्रीय तहसम्मका अधिवेशन सम्पन्न भएका छन् । जिल्ला र प्रदेश अधिवेशन हुन बाँकी छ । मोरङको सन्दर्भमा क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा कार्यकर्तामा निकै उत्साह देखिएको छ । गगन थापाको नेतृत्व र उहाँले अघि सार्नुभएको वैचारिक धार तथा राष्ट्रिय मुद्दामा लिएको अडानले कांग्रेसलाई राम्रोसँग अघि बढाउने विश्वास कार्यकर्तामा छ । अधिवेशनका क्रममा सबै तह, तप्का र समुदायलाई समेट्ने प्रयास भएको छ । यसले कार्यकर्तामा उत्साह थपेको छ ।

अहिले मोरङका नेता तथा कार्यकर्ता स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेका छन् । संगठन विस्तार र परिचालनका काम भइरहेका छन् । अधिवेशनका क्रममा भएका सानातिना मनमुटाव र प्रतिस्पर्धाका असन्तुष्टि बिर्सेर सबै साथी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतामा छन् । त्यसैले आगामी स्थानीय तहको निर्वाचनमा मोरङमा कांग्रेसले राम्रो परिणाम ल्याउने विश्वास छ ।

कार्यकर्तामा उत्साह देखिए पनि जनतामा त्यस्तो उत्साह सिर्जना हुन सकेको छैन । जनताको भरोसा जित्न कांग्रेसले अब के गर्नुपर्छ ?

पार्टीका कार्यकर्ता जनतासम्म पुग्ने पुल हुन् । कार्यकर्तामा आएको ऊर्जा जनतासम्म पुर्याउनुपर्छ । जनताको कुरा सुन्ने, उनीहरूका समस्या बुझ्ने र पार्टीका धारणा राख्ने काम कार्यकर्ताले गर्नुपर्छ ।