
कपिलवस्तु, ७ माघ । सुन्दा अचम्म लाग्न सक्छ २५ रुपैयाँमै पेटभर खाना पाईन्छ भनेर, तर यो वास्तविक नै हो । तपाई हामी जो कसैले होटलहरुमा खाना खादा २ सय तिरेर एक छाक खाने गर्दछौँ ।
चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले अब हरेक हप्ताको मंगलबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म २५ रुपैयाँमै खाना खुवाउने व्यवस्था गरेको छ ।
मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले सस्तो मुल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सरहानिय रहेको बताए ।
प्रदेश सभा सदस्य के.सी.ले रु. २५ तिरेर खाना खाँदै, खाना निकै स्वादिष्ट भएको बताए । थौरै आम्दानी भएकाहरुका लागी यो निकै राम्रो भएको जनाए ।
देशका अन्य शहरहरुमा पनि यस्तो व्यवस्था रहेको जनाउदै, चन्द्रौटामा पनि यो कार्यको शुभारम्भ भएकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै यस कार्यको निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।
२५ रुपैयाँमै खाना पाउँदा पूर्व पश्चिम आवात जावत गर्ने यात्रुहरुका लागि पनि यो सुविधाले फाइदा पुराउने वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए । “खाना निकै मिठो छ, रु.२५ कै खाना पनि ठूला होटलहरुमा पाइने खाना जस्तै स्वादिष्ट छ ” पाण्डेले भने ।
“अहिले हामीले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेका छौँ, यो सफल हुँदै गयो भने यसलाई दैनिक रुपमा लैजाने लक्ष्य रहेको छ ।” संस्थाका सल्लाहाकार विजय जयसवालले भने ।
अहिले संस्थामा आवद्ध स्थानिय युवाहरुको सक्रियता र सहयोगमा साप्ताहिक रुपमा सस्तो मुल्यमा खानाको व्यवस्था गरिएको र यसलाई सफल बनाउन अन्यत्रबाट पनि सहयोग आएमा दैनिक बनाउने उनले बताए ।
प्रत्येक हप्ताको मंगलबार चन्द्रौटामा रहेको गंगा कम्प्लेक्स अगाडी विहान १० बजे देखि साझ ५ बजे सम्म रु. २५ मा खाना खाने व्यवस्था हुने आयोजकले जनाएको छ ।















प्रतिक्रिया