
काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग बेल्जियमकी राजकुमारी एस्ट्रिडले शिष्टाचार भेट गरेकी छन् ।
सोमबार उनकै कार्यकक्षमा उपप्रधानमन्त्रीले बेल्जियमकी राजकुमारीलाई स्वागत गर्दै नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा आएकोमा खुशी व्यक्त गरे ।
भेटका अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेको कुरा बताए ।
युरोपियन युनियनभित्रको एक महत्त्वपूर्ण राष्ट्र बेल्जियमसितको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्व दिएको कुरा उल्लेख गर्दै उपप्रधानमन्त्रीले बेल्जियम सरकारले नेपालको आर्थिक, सामाजिक विकासमा पुर्याएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट बेल्जियम सरकारलाई धन्यवाद व्यक्त गरे ।
यस क्रममा उनले राजकुमारी एस्ट्रिड अध्यक्ष रहेको बेल्जियमको डेमियन फाउन्डेसनले नेपालका क्षयरोग तथा कुष्ठरोगबाट ग्रस्त बिरामीहरूको स्वास्थ्योपचारमा उपलब्ध गराएको सहयोग एवं यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहायताको लागि आभार व्यक्त गरे ।
उनले लामो राजनैतिक संक्रमणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको र अब मुलुकको ध्यान आर्थिक समृद्धितर्फ मोडिएको कुरा चर्चा गर्दै वर्तमान सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को सोचलाई कार्यान्वयनमा उतार्न सबै मित्रराष्ट्रहरूबाट सहयोगको अपेक्षा लिइएको विचार व्यक्त गरे ।
भेटवार्ताका क्रममा बेल्जियमकी राजकुमारी एस्ट्रिडले बेल्जियम र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रको रूपमा रहेको चर्चा गर्दै नेपालमा हालका दिनमा राजनैतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गरिन् ।
उनले आफू अध्यक्ष रहेको डमियन फान्डेसनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल लगायतका मुलुकहरूमा कुष्ठरोग र क्षयरोगको निवारणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने कुरा व्यक्त गरिन् ।
नेपाल बारुदी सुरुङ्बाट मुक्त भएकोमा खुशी व्यक्त गर्दै उनले नेपाल चाँडै नै ओटावा कन्भेन्सनको पक्ष राष्ट्र बन्नेमा आफू आशावादी रहेको विचार व्यक्त गरिन् ।
नेपाल र बेल्जियमबीच आगामी दिनमा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन दुई देशबीच व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक रहेको र यसका लागि आफूले सक्दो पहल गर्ने कुरा उनले भेटवार्ताका क्रममा व्यक्त गरिन् ।
शिष्टाचार भेटका अवसरमा राजकुमारीका श्रीमान, बेल्जियमका लागि नेपालका राजदूत, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको रक्षा मन्त्रालयका प्रवक्ता एवं सह सचिव सन्तकुमार सुनारले जनाएका छन् ।















प्रतिक्रिया