१० मंसिर २०८३, बिहिबार

खोटाङमा कीर्ते गर्ने मेयरलाई कारबाही गर्न कांग्रेसकाे माग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २० पुस । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर कीर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराइएको भन्दै कांग्रेसको छायाँ सरकार बिरोधमा उत्रिएको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरको ३० लाख रुपियाँ बजेटबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालन हुने भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्म एकीकृत बस्ती विकास तथा पूर्वाधार निर्माणका लागि विधिसंगत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर अर्कै उपभोक्ता समितिलाई योजना सम्झौता गराउन स्वीकृति दिएको भन्दै कांग्रेसको छायाँ सरकारले बिरोध गरेको हो ।

छायाँ सरकारले शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी टीकाराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै कीर्ते हस्ताक्षर गरेर कीर्ते उपभोक्ता समिति खडा गर्नमा संलग्न व्यक्तिको पहिचान गरेर कारबाही गर्न माग गरेको छ ।

कीर्ते उपभोक्ता समितिलाई सम्झौताका लागि सिफारिस दिने मेयर दीपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाइँलाई समेत कारबाही गर्न माग गरिएको छायाँ सरकार प्रमुख एवं कांग्रेसका क्षेत्रीय सभापति तीर्थराज भट्टराईले बताएका छन् ।

नगरपालिकाको मंसिर ३० गते प्राप्त पत्र अनुसार वडा कार्यालयले पुस ९ गते भवप्रसाद आचार्यको अध्यक्षतामा गठन गरेको ९ सदस्यीय उपभोक्ता समितिलाई लत्याएर मंसिर ६ गते युवराज आचार्यको अध्यक्षतामा गठन गरिएको ५ सदस्यीय उपभोक्ता समितिलाई योजना सम्झौताका लागि सिफारिस दिइएको खुलेपछि छायाँ सरकार बिरोधमा उत्रिएको हो ।

नगरपालिकाले युवराज अध्यक्ष रहेको उपभोक्ता समितिलाई पुस ९ गते नै सम्झौताका लागि संघीय आयोजना कार्यान्वयन इकाई बिराटनगर समक्ष सिफारिस दिइसकेको पाइएको छ ।

योजनाबाट गैर–लाभ लिने मनसायले हिरा आचार्यको किर्ते हस्ताक्षर गरेर युवराज अध्यक्ष रहेको उपभोक्ता समितिको कोषाध्यक्ष राखिएको ज्ञापनपत्रमा उल्लेख छ ।