–विमल सुवेदी
नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । यो बैठकले आगामी स्थानीय निर्वाचनको तयारीसँगै पार्टीको संगठनात्मक अवस्थाको गम्भीर समीक्षा गर्ने अपेक्षा गरिएको छ । कांग्रेसले अब विगतका कमजोरीबाट पाठ सिक्दै दूरगामी निर्णय गर्न आवश्यक छ ।
गत संसदीय निर्वाचनमा प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये जम्मा १८ सिटमा सीमित हुनुपरेको तितो यथार्थलाई आत्मसात् गर्दै पार्टीले तत्काल संगठन सुदृढीकरण अभियान सुरु गर्नुपर्छ । ती निर्वाचन क्षेत्रअन्तर्गतका गाउँपालिका, नगरपालिका र महानगरपालिकाका प्रत्येक वडामा अघिल्लो निर्वाचनमा प्राप्त मतको निर्मम र वस्तुगत समीक्षा गर्नुपर्छ । संगठन कहाँ बलियो छ, त्यसलाई थप सुदृढ कसरी बनाउने र कमजोर ठाउँमा संगठन कसरी विस्तार गर्ने भन्ने विषयमा गम्भीर छलफल हुनुपर्छ । कमजोरी पहिचान गरी सुधार गरेपछि मात्रै स्थानीय निर्वाचनमा होमिनु उपयुक्त हुन्छ ।
विशेष महाधिवेशनको निर्णय र पार्टीभित्रको विवाद
नेपाली कांग्रेसको यो बैठक चलिरहँदा निर्वाचन आयोगले पन्ध्रौं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएको छ । यो निर्णयपछि पनि पार्टीभित्रको विवाद पूर्ण रूपमा समाधान भएको छैन । २०४८ सालदेखि सरकार र संसद्मा निरन्तर देखिँदै आएका कतिपय पुराना अनुहारहरूको एउटा समूह मंसिर २१, २२ र २३ गते अर्को महाधिवेशन गर्ने तयारीमा रहेको छ । त्यसको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन छ ।
नेपाली कांग्रेसको विधानअनुसार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको मागसहित निवेदन बुझाएका थिए । त्यसपछि २०८२ मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले २०८२ पुस २६ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने मिति नै तोकेको थियो । सोही निर्णयअनुसार सम्पन्न विशेष महाधिवेशनमा ५६ प्रतिशत प्रतिनिधिको सहभागिताले नीति र नेतृत्व परिवर्तन गरेको तथ्य स्थापित भइसकेको छ।
तर विशेष महाधिवेशनको माग गर्ने महामन्त्री र सहमहामन्त्रीमाथि कारबाहीको डण्डा चलाउने, महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन अस्वीकार गर्ने र समानान्तर गतिविधि सञ्चालन गर्ने प्रवृत्तिले पार्टीभित्र अन्योल सिर्जना गर्यो । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएपछि चुनावका क्रममा त्यही नेतृत्वलाई स्वीकार गर्ने तर निर्वाचनपछि पुनः अस्वीकार गर्ने दोहोरो व्यवहारले पनि पार्टीभित्रको विश्वासको संकटलाई गहिरो बनाएको छ ।
स्थानीय निर्वाचनमा पार्टीभित्रको सानो मतान्तरले समेत परिणाममा प्रभाव पार्न सक्छ । त्यसैले अब विवादमा अल्झिरहनुभन्दा जनताको माझमा पुग्नुपर्छ ।
स्थानीय निर्वाचनमा पार्टीभित्रको सानो मतान्तरले समेत परिणाममा प्रभाव पार्न सक्छ । त्यसैले अब विवादमा अल्झिरहनुभन्दा जनताको माझमा पुग्नुपर्छ । जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रम, विगतका राजनीतिक अलमलबाट पार्टीले बेहोरेको क्षति, माओवादी आन्दोलनका क्रममा कांग्रेसमाथि भएका आक्रमण तथा विभिन्न निर्वाचनमा उत्पन्न परिस्थितिबारे जनतालाई तथ्यसहित बुझाउनुपर्छ । विगतका कमजोरी स्वीकार गर्दै भविष्यको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सकियो भने मात्रै कांग्रेसको रूपान्तरण अभियान सार्थक हुनेछ ।
विभाजन होइन, विधि र विधानअनुसार एकता
निर्वाचन आयोगले दोस्रोपटक विशेष महाधिवेशन पक्षधर नेतृत्वलाई आधिकारिकता दिएको पृष्ठभूमिमा पनि त्यसलाई स्वीकार नगरी डा. शशांक कोइरालाको संयोजकत्वमा अर्को महाधिवेशन आयोजना गर्ने तयारी भइरहेको छ । यदि उक्त समूहले प्रस्तावित महाधिवेशन रोक्दै पार्टीको मूलधारमा फर्कने निर्णय गर्छ भने संगठनात्मक एकताका लागि त्यो सकारात्मक कदम हुनेछ । यसले पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन सक्छ ।
यदि त्यसो नगरी अर्को महाधिवेशन गर्ने दिशामा अघि बढियो भने एउटै नाम र झण्डाअन्तर्गत अर्को महाधिवेशन गर्ने विषयले थप कानुनी र संस्थागत जटिलता निम्त्याउन सक्छ । यस्तो अवस्थामा आधिकारिक नेतृत्वले कानुनी उपचार खोज्नु स्वाभाविक हुनेछ ।
यदि विवाद समाधान भएन भने नेपाली कांग्रेसको इतिहासमा तेस्रोपटक विभाजनको अवस्था आउन सक्छ । पहिलो विभाजनको इतिहास मातृकाप्रसाद कोइरालासँग जोडिएको छ भने दोस्रो र सम्भावित तेस्रो विभाजनको जिम्मेवारी पनि शेरबहादुर देउवामाथि आउने राजनीतिक प्रश्नलाई नजरअन्दाज गर्न सकिँदैन ।
पार्टीमा लागेर जीवनका धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्नुभएका आदरणीय पूर्वसभापति शेरबहादुर देउवाजीलाई मेरो विनम्र आग्रह छ– कृपया फेरि विभाजनको बाटो नअपनाउनुहोस् ।
पार्टीमा लागेर जीवनका धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्नुभएका आदरणीय पूर्वसभापति शेरबहादुर देउवाजीलाई मेरो विनम्र आग्रह छ– कृपया फेरि विभाजनको बाटो नअपनाउनुहोस् । इतिहासमा आफ्नो नाम अर्को विभाजनसँग जोडिने अवस्था आउन नदिनुहोस् ।
देउवाजीले सन्तनेता कृष्णप्रसाद भट्टराईको पदचिह्नमा हिँड्ने कुरा कार्यकर्तामाझ राख्दै आउनुभयो । तर व्यवहारमा कार्यकर्तालाई बाइपास गर्दै सत्ता स्वार्थलाई प्राथमिकता दिने र पार्टीको नीति, विधि तथा प्रक्रियाभन्दा बाहिर गएर निर्णय लिने प्रवृत्तिले कांग्रेसलाई गुटबन्दीको दलदलमा फसाउँदै लग्यो । इमानदार र निष्ठावान् कार्यकर्ता कमजोर हुँदै गए भने पहुँच र शक्तिका आधारमा अवसर प्राप्त गर्नेहरूको प्रभाव बढ्दै गयो । यसले कांग्रेसको लोकतान्त्रिक विरासत र संस्थागत संरचनामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना गर्यो ।
पार्टी मिलाउने नाममा विशेष महाधिवेशन र पन्ध्रौं महाधिवेशनको भावना तथा निर्णयविपरीत बराबरी हैसियत र पद बाँडेर सबैलाई भित्र्याउने प्रयासले समस्या समाधान गर्दैन । बरु पुरानै गुटबन्दीलाई नयाँ स्वरूपमा निरन्तरता दिनेछ । एकता पद बाँडफाँटबाट होइन, विधि, विधान र संस्थागत निर्णयको सम्मानबाट सम्भव हुन्छ ।
त्यसैले विशेष महाधिवेशन पक्षधर नेतृत्वले पनि विधि र विधानभित्रै रहेर असन्तुष्ट साथीहरूलाई पार्टीमा फर्काउने प्रयास गर्नुपर्छ । एकता आवश्यक छ, तर त्यो संस्थागत निर्णयलाई कमजोर बनाएर होइन ।
पूर्वसभापति देउवाजीलाई फेरि विनम्र आग्रह गर्न चाहन्छु– एकपटक तपाईंले नेतृत्व गरेको विभाजनबाट पार्टीले भोगेको क्षति र त्यसपछि गिरिजाप्रसाद कोइरालाको सदाशयतामा पुनः पार्टीभित्र स्थापित हुन पाएको अवस्थालाई स्मरण गर्नुहोस् । त्यतिबेला आफ्नो राजनीतिक उचाइ पुनः स्थापित गर्न सफल हुनुभयो । अब फेरि त्यही गल्ती नदोहोर्याउनुहोस् । सम्मानपूर्वक गुटगत गतिविधिलाई बिदा गरेर सानेपास्थित पार्टीको मूल घर फर्कनुहोस् । यसले तपाईंको राजनीतिक योगदानको सम्मान बढाउनेछ र पार्टीको रूपान्तरण अभियानलाई समेत बल पुर्याउनेछ ।
युवाको निराशा चिर्ने कांग्रेस चाहिएको छ
आज देशमा, विशेषगरी युवा पुस्तामा चरम निराशा छाएको छ । रोजगारी, अवसर, सुशासन र राजनीतिक स्थिरताप्रतिको उनीहरूको अपेक्षा पूरा हुन सकेको छैन । यो निराशालाई चिर्ने तागत कांग्रेसले आफ्नो व्यवहार, नीति र कार्यक्रमबाट देखाउनुपर्छ । हाम्रा एजेन्डा युवालक्षित हुनुपर्छ र संगठनलाई गाउँ, टोल तथा प्रत्येक घरको दैलोसम्म पुर्याउनुपर्छ ।
कांग्रेसले अब इतिहासको गौरव मात्र होइन, भविष्यको सम्भावना पनि देखाउन सक्नुपर्छ । विगतका योगदानको चर्चा गर्दै वर्तमानका कमजोरी लुकाउने होइन, कमजोरी स्वीकार गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्छ ।
देश तथा विदेशमा रहेका सम्पूर्ण कांग्रेसजनलाई मेरो आग्रह छ– गुटगत आग्रह र मनभेद त्यागेर पार्टीको संस्थागत एकता, सुधार र रूपान्तरणका पक्षमा एक ठाउँमा उभिऔँ । अब अलमलमा बस्ने होइन, जनताको माझमा पुग्ने समय हो ।
कांग्रेसको भविष्य केवल नेतृत्व परिवर्तनमा होइन, नेतृत्वको सोच, कार्यशैली, संगठन सञ्चालनको विधि र जनताप्रतिको जवाफदेहितामा निर्भर छ । अबको कांग्रेस गुटको होइन, विधिको हुनुपर्छ । व्यक्तिको होइन, संस्थाको हुनुपर्छ । सत्ता प्राप्तिको मात्र होइन, जनताको विश्वास प्राप्तिको अभियानमा अघि बढ्नुपर्छ ।
जय नेपाल !
(सुवेदी नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनका महासमिति सदस्य हुन् ।)











प्रतिक्रिया