पाेखरा, १४ पुस । वृद्धा महिलाको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानकी ६६ वर्षीया चिजा कुमारी विकको हत्या गरेको आरोपमा प्रहरीले म्याग्दीका खिमबहादुर श्रीपालीलाई पक्राउ गरेको हो ।
विकको हत्या आरोपमा म्याग्दी धवलागिरी गाउँपालिका–५ घर भई पोखरा २५ हेम्जामा बस्दै आएका ३९ वर्षीय श्रीपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी दानबहादु कार्कीले बताए ।
विकको पुस ६ गते राति हत्या भएको थियो । हत्या गरेर भागेका श्रीपालीलाई प्रहरीले तनहुँको व्यास नगरपालिकाबाट पक्राउ गरेको हो । वृद्धा विकको गरगहना चोरेर हत्या गरी फरार भएका श्रीपालीलाई तनहुँबाट पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए ।
चिजाको घरमा पुगेर रक्सी खाएर राति नै हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए । श्रीपालीले चिजाको हत्या गरेर शवलाई ६ वटा शिरक र कम्मलले छोपेर घरको ढोकामा ताल्चा लगाएर फरार भएको प्रहरी प्रमुख एसपी कार्कीले बताए । उनले भने, ‘चिजाको हत्या भएको स्थानबाट करिब २ केजीको ढुंगा समेत फेला परेको छ ।’
ढुंगाले टाउकोमा प्रहार गर्दा उनको ‘हेड इन्जुरी’ भएर मृत्यु भएको उनको भनाई छ । श्रीपालीको साथबाट हालसम्म डेढ तोला सुन मात्र बरामत भएको प्रहरीले जनाएको छ ।
श्रीपालीले बिक्री गरेको सुन खरिद गर्ने सुन पसलका संचालकलाई अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको एसपी कार्कीले बताए ।











प्रतिक्रिया