कैलाली, २५ मंसिर । अत्तरियाको गोदावरीदेखि माथि फोक्से डाँडासम्म भएको नयाँ अतिक्रमण केही दिनअघि डिभिजन वन कार्यालय धनगढीको टोलीले हटायो।
तर गाईमारा क्षेत्रमा भएको मानवीय अतिक्रमण एक साताअघि टहरा हटाइए पनि वनमाफियाले सो क्षेत्रमा रातारात पुनः घर–टहरा निर्माण गरे। यसरी अत्तरिया, गोदावरी, चुरेक्षेत्रमा अघिअघि डिभिजन वन कार्यालय अतिक्रमण हटाउँदै जाने र पछिपछि वनमाफियाले घर–टहरा निर्माण गर्ने क्रम विगत एक महिनादेखि चलिरहेको छ।
२०७५ असोज १२ गते गोदावरी नगरपालिकाको तेघरी सामुदायिक वनक्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले राजधानी घोषणा गरेसँगै अत्तरिया, गोदावरी, तेघरीमात्रै नभई समग्र चुरेक्षेत्र नै अतिक्रमणको चपेटामा परेको छ। यो क्षेत्रमा फँडानी गरी वनमाफियाले घडेरी बनाउन थालेका हुन्।
तेघरी जंगलमा राजधानीस्थल तोकेलगत्तै वनमाफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वनक्षेत्रमात्र नभई चुरेक्षेत्रमा गिद्देदृष्टि लगाउन थालेको अत्तरियाका स्थानीय यज्ञबहादुर रावलले बताए। ‘तेघरीमा राजधानी बन्ने निश्चित भएपछि पछिल्लो एक वर्षयता यो क्षेत्रमा वनमाफियाको गिद्दे नजर परेको छ,’ उनले भने, ‘पछिल्लो समयमा वन अतिक्रमण गरी घर–टहरा बनाउने तथा जमिन सम्याएर बेच्ने क्रम बढेको छ।’
स्रोतका अनुसार तेघरीनजिकै रहेको हनुमान मन्दिर, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्रमा अत्तरियास्थित सब–डिभिजन वन कार्यालयकै कर्मचारीको मिलेमतोमा वनमाफिया र भू–तस्करहरूले आफन्तलाई ल्याए अधियाँमा अतिक्रमण गराउने गरेका छन्। स्रोतले भन्यो, ‘केही वन कर्मचारीहरू पहाड तथा तराईबाटै आफन्तहरूलाई ल्याएर तेघरीनजिकै गोदावरी क्षेत्र तथा चुरेक्षेत्रमा फँडानी गर्न लगाउने र त्यसको संरक्षण गर्ने गरेका छन्।’ नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया