५ कार्तिक २०८३, बिहिबार

उत्तर कोरियाली लगानीका व्यवसाय बन्द

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सरकारले उत्तर कोरियाली मुलुकका नागरिकले नेपालमा सञ्चालन गरेका व्यवसाय बन्द गराएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव अनुसार उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गरेर लगानीकर्तालाई फिर्ता पठाएको हो ।

उत्तर कोरियाका ४८ जनाले बिजनेस तथा कामदार भिसा लिएकोमा ४२ जना फिर्ता भइसकेका छन् । बाँकी ६ जना पनि फिर्ता जाने तयारीमा रहेको अध्यागमन विभागले जनाएको छ ।
नेपालमा उत्तर कोरियाली लगानीका सबै व्यवसाय बन्द भएको उद्योग विभागका उपनिर्देशक प्रेम लुइँटेलले बताए । ‘संयुक्त राष्ट्रसंघको निर्णय अनुसार लगानी फिर्ता गर्न निर्देशन दियौं,’ उनले भने, ‘अब नेपालमा उत्तर कोरियाको कुनै लगानी छैन ।’

उद्योग विभागले व्यवसाय बन्द गरेर लगानी फिर्ता गर्न निर्देशन दिँदै अक्टोबर ३० पछि लगानीकर्ता र कामदारको भिसाको समय नथप्न अध्यागमन विभागलाई निर्देशन दिएको थियो । त्यसपछि अध्यागमने भिसा थप गरेको छैन । केही लगानीकर्ताले अटेर गरेका थिए । उद्योग विभाग र अध्यागमनका अधिकारीले गत हप्ता दरबारमार्गमा रहेको बोटोङगाङ रेस्टुरेन्ट बन्द गराएका छन् ।

४८ जना उत्तर कोरियाली नागरिकले बिजनेस तथा कामदार भिसा लिएका थिए । ४२ जना फिर्ता भइसकेको अध्यागमन विभागका निर्देशक लिलाधर अधिकारीले बताए । ‘अब ६ जना मात्र बाँकी छन्,’ अधिकारीले भने, ‘छिटो प्रक्रिया पु¥याएर फर्किन निर्देशन दिएका छौं ।’ अध्यागमन कानुन अनुसार पर्यटक भिसामा केही समय बस्न पाइने भएकाले सोही अनुसार अहिले बसिरहेका छन् । डिसेम्बर २२ गतेसम्म फर्किनु पर्नेछ ।

सन् २०१७ को सुरक्षा परिषद् बैठकले २०१९ को अक्टोबरसम्म आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गरेर नयाँ थप लगानी ल्याउन नदिने प्रस्ताव पारित गरेको थियो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले त्यसलाई कार्यान्वयनमा ल्याएको हो ।

विभागका अनुसार उत्तर कोरियाका व्यवसायीले होटल, रेस्टुरेन्ट, अस्पताल र आइटीमा लगानी गरेका थिए । यहाँ उत्तर कोरियालीले योङबोङ चान्ड आइटी कम्पनी, हिमालयन सोजी रेस्टुरेन्ट, रिमिन होटल, बोटोङगाङ रेस्टुरेन्ट, प्योङयाङ अकुग्यान नेपाल, मिनस रेस्टुरेन्ट, प्योङयाङ अकुग्यान रेस्टुरेन्ट र हिमाल चिल्बो टेक्निकल सोलुसनमा लगानी गरेको विभागले जनाएको छ । २३ करोड रुपैयाँ लगानी गरे पनि औपचारिक रुपमा कति लगानी ल्याए भन्ने विभागसँग तथ्यांक छैन । ‘प्रतिबद्धता अनुसार लगानी आएको थिएन,’ लुइँटेलले भने, ‘थोरै पुँजी भएकाले फिर्ता गर्न कुनै कठिनाइ भएन ।’ नागरिक दैनिकले समाचार छापेकाे छ ।