६ कार्तिक २०८३, शुक्रबार

नेपाललाई हिन्दू राज्य बनाउने कुरा राजतन्त्र फर्काउनेसँग जोडिन्छ : रणजित राय

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । धर्मनिरपेक्षताविरुद्ध कुरा उठिरहेका बेला नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायले ‘नेपाललाई हिन्दू राज्य बनाउने कुरा राजतन्त्र फर्काउनेसँग’ जोडिने उल्लेख गरेका छन् ।

मन्जिभसिंह पुरी अघि राजदूतका रुपमा काम गरेका रायले द वायरलाई दिएको अन्तरवार्तामा नेपालमा बहुसंख्यक हिन्दू रहेको बताउँदै राजा महेन्द्रले ०१७ सालमा हिन्दु राज्य घोषणा गरेका कारण यी दुईको सम्बन्ध रहेको बताएका हुन् ।

‘जहाँसम्म हिन्दू राष्ट्रको प्रश्न छ, यो रोचक अवधारणा छ । नेपाल २०१७ सालमा जारि गरेको संविधानपछि मात्रै हिन्दू राष्ट्र बनेको हो । त्यो राजा महेन्द्रले ल्याएका हुन् । उनले आफूलाई विष्णुको अवतारको रुपमा घोषणा गरेका थिए’, रायले भनेका छन्,‘ हिन्दू राष्ट्रको विषय विष्णुको अवतारको धारणासँग जोडिएको छ । त्यसैले हिन्दू राष्ट्र र राजतन्त्रको विषय मौलिक रुपमा जोडिएको विषय हो ।’

उनले यहि सन्दर्भमा अगाडि भनेका छन्,‘जहाँसम्म हिन्दू राष्ट्रको कुरा छ, त्यसको अर्थ राजतन्त्रलाई फिर्ता ल्याउने कुरासँग जोडिन्छ । केही मानिसले हिन्दू गणतन्त्रको कुरा गरेका छन् ।’

भारतका विभिन्न संगठन र व्यक्तिहरु नेपाल हिन्दू गणतन्त्र होस् भन्ने चाहेको उल्लेख गरेका उनले आफू यो विषय नेपाली जनता र नेताहरुले टुंग्याउने विषय रहेको बताएका छन् ।

यसै सन्दर्भमा पश्चिमा शक्तिहरुले नेपालमा धर्मनिरपेक्षता लादेको र धर्म परिवर्तन गर्न खोजेको आशयमा पनि बोलेका छन् ।

‘नेपाली कांग्रेसभित्रका केहिले अहिले पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने माग गरिरहेका छन् । कम्युनिष्टहरुमा धेरैजसो नेपाल धर्मनरपेक्ष हुनुपर्छ भन्नेमा छन् । संविधानमा पनि धर्मनिरपेक्षताको निकै रोचक परिभाषा रहेको छ । यो नेपालभित्र जारी रहेको एउटा बहसको विषय हो’, रायले एउटा प्रश्नमा भनेका छन्,‘धेरै पश्चिमा देशहरु, खासगरि पश्चिमा गैरसरकारी संस्थाहरु नेपालमा धर्मपरिवर्तमा संलग्न रहेका छन् ।’