
काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन्।
मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रीहरु फेदबदल गरेका छन् ।
सपथ लिने नवनियक्त मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, कृषिमन्त्री घनश्याम भुषाल र उद्योगमन्त्री लेखराज भट्ट तथा श्रम मन्त्री रामेश्र्वर राय यादव रहेका छन् ।
यस्तै राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ गराएका छन्। मोतिलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धरले सहरी विकास राज्यमन्त्रीको सपथ लिएका हुन्।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्री बनाइएको छ भने कानूनमन्त्री भानुभक्त ढकाल स्वास्थ्यमन्त्री बनाइएको छ ।
परिवर्तन गरिएका मन्त्रीहरुमा ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल भएका हुन् । स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रीबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारी दइएको छ । स्वास्थ्य मन्त्रीको जिम्मेबारी भने कानुनमन्त्री भानुभक्त ढकाललाई दिइएको छ ।
हटाइएका मन्त्रीमा रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मात्रिका यादव, चक्रपाणि खनाल र थममाया थापा छन् भने राज्यमन्त्रीहरू धनबहादुर बुढा, रामकुमारी चौधरी र डा.सुरेन्द्र यादव पनि पदमुक्त भएका छन्। हटाइएका ६ मध्ये ४ पूर्वएमाले र २ पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका थिए। राज्यमन्त्रीबाट बिदाइ भएकामध्ये एक पूर्वएमाले, एक पूर्वमाओवादी र एक समाजवादी पार्टीका नेता हुन्। नवगठित मन्त्रिमण्डलमा महिला २, दलित १, मधेसी २, मुस्लिम १ जना छन्। यसअघि महिला तीनजना थिए।
मन्त्रिमण्डलमा उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, संस्कृति पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेतको जिम्मेवारी यथावत् राखिएको छ।
यस्तै अर्थमन्त्री डा. युवराज खतिवडा, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, खेलकुदमन्त्री जगत विश्वकर्मा, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल र खानेपानीमन्त्री विना मगरको मन्त्रालय पनि यथावत् छ।















प्रतिक्रिया