५ कार्तिक २०८३, बिहिबार

आश्रयस्थलबाट ९ शिशु गायब

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २ मंसिर । गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ। प्रसूतिमा रेखदेख गर्छ। त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ।

तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन्। कहाँ लगिइन्छन् त ती ? हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ।

यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका थिए। रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले कात्तिक २० गते प्रतिवेदन बुझाएको थियो।

त्यसलाई गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासनले जनाएको छ। गोप्य अनुसन्धान भनिएको उक्त प्रतिवेदनअनुसार ९ बालबालिकालाई ‘स्थापित परिवारमा हस्तान्तरण गरेको’ विवरण संस्थाले पेस गरेको देखिएको छ।

भुसाल नेतृत्वको टोली अनुसन्धान गर्न दसैंअघि संस्थामा पुगेको थियो। त्यति बेला संस्थाका कर्मचारीले ती बालबालिका ‘योग्य परिवारमा दिइएको’ भने पनि कागजातपत्र नदेखाएको भुसालले जानकारी दिए।

‘संस्थाको भवन भव्य र व्यवस्थित रहेछ’, उनले भने, ‘भौतिक सुविधा राम्रो भए पनि आफैं बालबालिका हस्तान्तरण गर्नु कतिसम्म कानुनी वा गैरकानुनी हो भन्ने प्रश्न छ। सबै तथ्य अहिले नै भन्न मिल्दैन।’

‘भ्रुणको आवाज’ मा १० किशोरी तथा महिलाले बच्चा जन्माएको उक्त संस्थाका कार्यकारी निर्देशक सोमन राईले बताए। ‘तीमध्ये एकको मृत्यु भयो। अन्य ९ जनालाई आमाले नै योग्य परिवारमा हस्तान्तरण गरेका हुन्’, दाबी उनले गरे।

अनुसन्धानले भने संस्थाले आफूखुसी बालबालिका दिएको पाएको छ। बालबालिका कसैलाई दिन पाउने कानुनी प्रावधान छैन। बच्चा स्थापित परिवारमा दिँदा ‘मध्यस्थता’को भूमिका खेल्ने संस्थाको विधानमा लेखिएको छ। तर, कानुनी रूपमा मध्यस्थताको भूमिका जिल्ला प्रशासन कार्यालयले मात्रै निर्वाह गर्ने जानकारी आफूले पाएको उनले स्वीकार गरे। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।