५ कार्तिक २०८३, बिहिबार

२२ लाख भ्रष्टाचार मुद्दामा २ लाख धरौटीमा छाड्ने आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, मंसिर । दुग्ध विकास संस्थानलाई २२ लाख १९ हजार ६ सय ६८ रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दूध डिस्ट्रिब्युटर गोकुल निर्माण सेवाका ठेकेदारलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीशत्रय कृष्ण गिरी, चन्द्रबहादुर सारु र डा. रवि शर्मा अर्यालको इजलासले दूध डिस्ट्रिब्युटरका ठेकेदार गोकुल अर्याललाई धरौटी माग्ने आदेश भएको विशेष अदालतका सूचना अधिकारी तथा उपरजिस्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिए ।

अख्तियारले दुग्ध विकास संस्थानले काठमाडौं उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का दिएकोमा ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेन्डर नगरी पुनः सम्झौता गरी संस्थानलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

दुग्ध विकास संस्थानलाई हानि नोक्सानी पु-याउने बदनियतले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासनसम्बन्धी विनियमावली २०६६ का साथै दुग्ध विकास संस्थान खरिद व्यवस्थापन शाखा, प्रशासन व्यवस्थापन विभाग र आर्थिक व्यवस्थापन विभागसमेतको सिफारिस रायविपरीत २२ माघ २०६९ मा सम्झौता गरेको थियो ।

सो सम्झौतामा प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी ५५ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गराई अस्वाभाविक बढी भुक्तानी लिई आफूहरूलाई फाइदा र दुग्ध विकास संस्थानलाई हानि–नोक्सानी पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

ठेकेदार अर्यालसहित अख्तियारले संस्थानका तत्कालीन निमित्त उपमहाप्रबन्धक ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा, प्रशासन विभागका निमित्त प्रमुख दीपक सुवेदी, प्रभु आदित्य बिजनेस प्रालिका सञ्चालकद्वय फणीन्द्रप्रसाद दाहाल र दीपबहादुर खड्का तथा तत्कालीन सञ्चालक सतिसकुमार गिरीलगायतलाई मुद्दा दर्ता गरेको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।