५ कार्तिक २०८३, बिहिबार

‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । सामुदायिक विद्यालयका १४ लाख छात्रालाई मंसिरमा सेनेटरी प्याड बाँड्ने कार्य पूरा नहुने भएको छ। अहिलेसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएकाले मंसिरभित्रै ‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै रहने निश्चित भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर १ गतेदेखि सबै सामुदायिक विद्यालयका कक्षा ६–१२ का छात्रालाई उक्त प्याड वितरण गर्ने घोषणा गरेको थियो। यसअघि भने कात्तिक १ गतेदेखि वितरण गर्ने योजना सार्वजनिक गरिएको थियो।

मन्त्रालय स्रोतका अनुसार हालसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएका कारण ढिलो हुने भएको हो। ‘रफ्तारमा काम गरे पुसमा वितरण हुन सक्छ।’ –स्रोतले भन्यो। राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको नीति तथा कार्यक्रममा कात्तिक १ गतेदेखि सबै छात्रालाई सेनेटरी प्याड वितरण गर्ने उल्लेख छ।

नीति कार्यक्रममा उल्लेख भएको विषयमा स्वास्थ्य मन्त्रालयले आफ्नो कार्यक्षेत्रमा पर्ने जनाउँदै बजेट तयार गरेको थियो। बजेट तयार गरेलगत्तै स्वास्थ्य मन्त्रालयले सबै छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब २ अर्ब ६५ करोडको बजेट पेस गरेको थियो।

शिक्षा मन्त्रालयले आफ्नो मातहतमा पर्ने विषयमा स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गर्न खोजेकामा आपत्ति जनाउँदै टेन्डरमार्फत प्याड खरिद गर्ने तयारी गरेको थियो। मन्त्रालयबाट खरिद गरी दिने तयारी भएपछि विरोध भएको थियो। लगत्तै मन्त्रालयले स्थानीय तहमार्फत खरिद गरी वितरण गर्ने व्यवस्था गरेको थियो।

अहिले शिक्षा विकास तथा मानव स्रोत केन्द्रले विद्यार्थी संख्या यकिन गर्ने, संघ र प्रदेश सरकारले सहजीकरण गर्ने, स्थानीय सरकारले आवश्यक पर्ने प्याड खरिद गर्ने र विद्यालयले वितरण र विसर्जन गर्ने गरी कार्यविधि निर्माण भइरहेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।