पोखरा, २४ कात्तिक । मुलुकभरबाट प्रतिनिधिसभा सदस्यका लागि आगामि मंसिर १४ मा कास्की–२ मा मात्र उपनिर्वाचन हुँदैछ। बिहीबार उम्मेदवारी दर्ता गरेसँगै यहाँ दलको चुनावी मैदान ह्वात्तै तातेको छ। चुनावी मैदानमा एकअर्कालाई हराउने दाउमा दलहरू लागेका छन्।
यसअघि तीनपटकसम्म चुनाव जितेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो। उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले अधिकारी पत्नि विद्या भट्टराईलाई कास्की–२ बाट उम्मेदवार बनाएको छ। कांग्रेसले भने पुराना, पाका र इमान्दार नेताको छवि बनाएका खेमराज पौडेललाई चुनावी मैदानमा उतारेको छ।
मुख्य प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच भए पनि अरु साना दल र स्वतन्त्रबाट पनि उम्मेद्वारी परेका छन्। साना दल र स्वतन्त्रका उम्मेदवार थपिए पनि एकअर्कालाई यो चुनावमा ढाल्ने रणनीति बनाउँदै ठूला दल भने मुख्य रूपमा होडबाजीमा लागेका छन्। दुई ठूला दल नेकपा र कांग्रेसका उम्मेदवार एकअर्कालाई पराजित गरेर जित आफ्नो पोल्टामा ल्याउने रणनीतिमा रहेका छन् भने साना दल भने उपस्थितिमै सीमित हुनेमा ढुक्क पनि छन्।
नेकपा उम्मेदवार भट्टराईले पति अधिकारीले गरेको कामलाई आधार बनाएर जित हाँसिल गर्ने दाउमा छिन् भने पाको उमेरमा उम्मेदवारी पाएका कांग्रेसका पौडेलले सरकारले गरेका कामको मूल्यांकन मतदाताले गर्ने हुँदा यो पटकको जित आफ्नो पोल्टामा आउने बताउँछन्।
‘जनता सरकारी रबैयाबाट साह्रै नै असन्तुष्ट भएका छन्। निराश भएका जनतालाई आशा दिलाउने गरी हामी चुनावी मैदानमा होमिएका छाैं,’ उम्मेदवारी दिएपछि पौडेलले पत्रकारहरूसँग भने, ‘सरकारबाट निराश भएका ती जनतालाई आशा दिलाउने गरी रणनीति बनाएर चुनावी मैदानमा जाने हो।’ यसअघिको निर्वाचनमा नेकपाले गरेको वचनबद्धतालाई सरकारले पुरा गर्न नसकेको उनले बताए। सरकारले ती वचन पुरा नगर्दा गल्ती गरेको उनले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया