काठमाडौं, २० कात्तिक । दसैंतिहारको एक महिना लामो बिदापछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समिति बैठक मंगलबार बोलाइयो ।
राज्य व्यवस्थामा समितिमा संघीय निजामी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयकमाथिको छलफल थियो। अर्थ समितिमा भने नागरिक लगानी कोषसम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो।
बिहान १० बजे बोलाइएको राज्य व्यवस्था समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव यादवप्रसाद थपलियालगायतको उपस्थिति थियो।
सभापति शशी श्रेष्ठसहित ९ जना सदस्य बैठकमा सहभागी भए। तर कोरम नपुगेको भन्दै बैठक स्थगित भयो। करिब आधा घण्टा बसेपछि मन्त्री यादव फर्किए। बैठकमा सभापति श्रेष्ठसँगै जनार्दन शर्मा, झपट रावल, डा. डिला संग्रौला, मीना पाण्डे, अमरेशकुमार सिंह, प्रेम सुवाल र पम्फा भुसाल हाजिर गरेर फर्किए।
अर्थ समितिमा पनि सांसदहरू ४५ मिनेट पर्खिएर बसे। तर, कोरम नपुगेपछि समिति सभापति कृष्णप्रसाद दाहालले बैठक स्थगित गरे। बैठकमा सभापति दाहालसँगै ८ जना सांसद उपस्थित थिए।
बैठकमा तुलसी थापा, जयकुमार राई, प्रमिला राई, मोतीलाल दुगड, रामकुमारी झाँक्री, श्यामकुमार श्रेष्ठ र सुरेन्द्र पाण्डे सहभागी थिए। सांसदहरूले हाजिर गरिसकेपछि आफूहरू उपस्थित भएको महत्त्व के भन्दै प्रश्न गरे। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया