काठमाडौं, १९ कात्तिक । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले प्रस्ताव गरेका व्यक्ति प्रदेश प्रमुखमा नपरेपछि पार्टीमा फरक मत दर्ता गराएका छन् ।
नेकपा सचिवालयको सोमबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमाले र अर्का अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी पक्षबाट मिलाएर नाम प्रस्ताव गरेका थिए ।
तिनमा एकजना पनि आफ्नो पक्षका नपरेपछि नेपालले फरक मत राखेका हुन् ।
‘हिजो हामी नेताहरूले आ–आफ्नातर्फबाट नाम प्रस्ताव गरेका थियौं, उहाँले प्रस्ताव गर्नुभएका चार–पाँचवटा नाममध्ये एउटा पनि परेन,’ एक सचिवालय सदस्यले कान्तिपुरसँग भने, ‘शनिबारको बैठकमा कसैलाई मर्का नपर्ने गरी नाम सिफारिस गर्ने सहमतिमा छुट्टिएका थियौं ।’
नेता नेपालले सोमबारको बैठकमा आफ्नो प्रस्ताव बारम्बार दोहोर्याएका थिए । तर प्रधानमन्त्री ओलीले पूर्वएमालेको भागमा परेका चारवटा प्रदेशमा आफूनिकट नेतालाई मात्र लैजाने निर्णय गरेपछि नेपाल झोक्किए । स्रोतका अनुसार माइन्युटमा उनको फरक मत छ ।
‘सबै निर्णय ओलीजीले भनेर मात्रै हुने भो, पार्टी एकलौटी भयो भने कसरी हुन्छ ? क्षमतावान् कमरेडहरू जिम्मेवारीविहीन हुने, पटकपटक चुनाव हारेका प्रदेश प्रमुख हुने, यस्तो निर्णय मलाई मान्य छैन,’ नेपाललाई उद्धृत गर्दै सचिवालयका एक नेताले भने । नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, वेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए ।
पूर्वमाओवादीबाट आएका नाममध्ये तिलक परियार रामबहादुर थापा, अमिक शेरचन नारायणकाजी श्रेष्ठ र शर्मिलाकुमारी पन्त अध्यक्ष पुष्पकमल दाहालको इच्छामा सिफारिस भएका हुन् । तर पूर्वएमालेको भागका चारै जना ओली पक्षधर हुन् । सचिवालयमा रहेका पूर्वएमालेतर्फका नेताहरू झलनाथ खनाल र वामदेव गौतम पनि अध्यक्ष ओलीको निर्णयमा असहमति राख्ने पक्षमा नदेखिएपछि नेपाल एक्लिए ।
पार्टीमा आफ्नो प्रस्तावलाई बेवास्ता गरिएपछि नेपालले फरक मत राखेको यो पहिलोपटक होइन । गत भदौ ३ गते नेकपा सचिवालय बैठकमा पनि उनले लिखित रूपमै फरक मत राखेका थिए ।
भदौ १ को बैठकले पार्टीका विभिन्न विभाग तथा जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाउँदा आफूले सिफारिस गरेका नेतालाई बेवास्ता गरिएको नेपालको गुनासो थियो । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया