काठमाडौं, १९ कात्तिक । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेकी छन् । प्रदेश प्रमुखहरूको शपथग्रहण मंगलबार हुने पनि राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्त गरेकी हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उल्लिखित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरेको थियो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद् बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो ।
राष्ट्रपति कार्यालयले पनि नयाँ प्रदेश प्रमुखहरू शपथग्रहणको कार्यक्रम सोमबार विहान ११ बजेका लागि तोकेको छ ।
यसअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले नयाँ प्रदेश प्रमुख छानेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख बनाउन सात जनाको नाम छानेको थियो ।
बैठकपछि बोल्दै नेकपा महासचिव विष्णु पौडेलले चितवनका शेरचन, कास्कीका अधिकारी, बाँकेका परियार, डडेल्धुराका कलौनी, झापाका प्रसाईं, काठमाडौंकी त्रिपाठी र सिरहाका यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको जानकारी दिएका थिए ।
नेकपाले प्रदेश प्रमुखका लागि सात जनाको नाम सिफारिस गरे पनि कसलाई कुन प्रदेशमा खटाउने भन्ने निर्णय भने गरेको थिएन । नेपकाले सिफारिस गरेका व्यक्तिलाई नै त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको जिम्मेवारी विभाजन गरेको थियो ।
अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
प्रदेश १ : सोमनाथ अधिकारी ‘प्यासी’
प्रदेश २ : तिलक परियार
प्रदेश ३ : विष्णु प्रसाईं
गण्डकी प्रदेश : अमिक शेरचन
प्रदेश ५ : धर्मनाथ यादव
कर्णाली प्रदेश : गोविन्द कलौनी
सुदूरपश्चिम प्रदेश : शर्मिला त्रिपाठी
यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो ।
आफूले नियुक्त गरेका प्रदेश प्रमुख हटाएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले असन्तुष्टि व्यक्त गरेको थियो । प्रदेश प्रमुख हटाउनु निर्वाचन आचार संहिताविपरीत भएको र यसले दलहरूबीच सहमतिको राजनीतिलाई तोड्ने काम गरेको उसको टिप्पणी थियो ।
यसबारे राखिएको जिज्ञासामा महासचिव पौडेलले संवैधानिक प्रक्रियाअनुसार नै प्रमुखहरू हटाउने र नयाँ नियुक्त गर्ने काम भएको बताए । उनले भने, ‘यसले सहमतिको राजनीतिलाई केही असर पार्दैन ।’
सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णालीका दुर्गाकेशर खनाल र सुदूरपश्चिमका मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेकी थिइन् । राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम उनीहरूलाई पदमुक्त गरेकी हुन् ।
चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय थिए ।
कास्कीका अधिकारी पूर्वसभासद् हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुने उपनिर्वाचनका लागि दाबेदार थिए । बाँकेका तिलक परिवार पूर्वसभासद हुन् ।
प्रदेश प्रमुखमा सिफारिस भएका सिरहााका यादव नेकपाका केन्द्रीय सदस्यसमेत हुन् । यस्तै, बैतडीका कलौनी २०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेका थिए ।
एमाले फुटेर माले बन्दा त्यता गएका उनी पछिल्लो समय तत्कालीन एमालेमा सक्रिय थिए । प्रसाईं मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए ।
यस्तै, काठमाडौंकी त्रिपाठी तत्कालीन माओवादीसम्बद्ध बेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले बेपत्ता पारेको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया