काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ ।
शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले १४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकले उपनिर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको बताए । ‘बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ, आइतबार बस्ने पदाधिकारी बैठकले उम्मेदवारबारे निर्णय गर्छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।
कांग्रेसले उमेदवार चयनको विषयमा छलफल गर्न भन्दै शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको थियो । उपनिर्वाचनका लागि अहिलेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा धरान उपमहानगरपालिकाको प्रमुखका लागि मात्रै सर्वसम्मत नाम प्राप्त भएको छ ।
त्यसबाहेक अन्यत्रबाट भने धेरै आकांक्षीको नाम आएको छ ।यसरी तल्लो तहबाट सिफारिस भएर आएका नामबारे भने आइतबार बस्ने पदाधिकारी बैठकमार्फत निर्णय लिने कांग्रेसले तयारी गरेको हो ।
सभापति शेरबहादुर देउवाले आइतबारका लागि आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारीको बैठक बोलाएका छन् ।
सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत आमन्त्रित सदस्यका रूपमा सहभागी गराएर निर्णय गर्ने अधिकार केन्द्रीय समिति बैठकले दिएको हो ।
सभापति देउवाले बिहीबारसमेत निवासमा नै पदाधिकारी बैठक राखेर पार्टीको जागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिसँग समेत उम्मेदवारबारे छलफल गरेका थिए । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया