काठमाडौं, १६ कात्तिक । जिल्ला अदालत काठमाडौंले शुक्रबार जबर्जस्ती करणी आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेपछि उनलाई शुक्रबार अदालतले बयान लिएको हो ।
जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा उनलाई इजलास अधिकृतले बयान लिएका हुन् । उनले आफूमाथि लागेको सबै अभियोग गलत भएको बयान दिएका छन् । शुक्रबार महराको बयान सकिए पनि समय अभावका कारण थुनछेक बहस भने आइतबार मात्रै हुनेछ ।
आफ्नै महिला कर्मचारी माथि बलात्कार प्रयास गरेको आरोपमा निवर्तमान सभामुख महरा १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो ।
१८ असोजमा रोशनीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
सोही किटानी जाहेरीको आधारमा महरा सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए । पक्राउ परेको केही दिनपछि नै महरा अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया