विराटनगर, १४ कात्तिक । प्रदेश १ को धरान उपहानगरपालिका, फाल्गुनन्द र चिचिला गाउँपालिकाको प्रमुखका लागि र विभिन्न स्थानका वडाध्यक्ष र सदस्यका लागि हुने उपनिर्वाचनको माहोल तात्न थालेको छ।
प्रदेश १ मा सत्तारुढ दल नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। अहिले राजनीतिक दलहरू उम्मेदवारको नाम टुंग्याउने अभियानमा रहेका छन्।
धरानमा नेपाली कांग्रेस र समाजवादी पार्टीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेका छन्। यस्तै, संघीय लिम्बुवान मञ्चले पनि उम्मेदवार सिफारिस गरिसकेको छ भने एकजना स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
नेकपाबाहेक अन्य दलसँग गठबन्धनको प्रयास गर पनि कांग्रेसले धरान उपमहानगर कमिटी सभापति तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
अहिले कांग्रेस उम्मेदवार राईसहित चुनावी अभियानमा जुटिसकेको छ। यस्तै, समाजवादीले पनि गजेन्द्र इस्वोलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ। समाजवादीले पनि चुनावी अभियान थालिसकेको छ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकामा चुनावी रौनक छाएको छ। राजनीतिक दलहरू धमाधम उम्मेदवार सिफारिस गर्न र चुनावी अभियान तीव्रता दिइरहेका छन्। सर्वसाधारण मतदाता पनि चुनावी सरगर्मी तथा चासो बढेको छ।
धरानमा रिक्त रहेको मेयर र वडा नं ७ को अध्यक्ष पदमा उपनिर्वाचन हुदैछ। मेयर तारा सुब्बा र वडाअध्यक्ष भुवन मोक्तानको निधन भएपछि एक वर्षअघिदेखि यी दुवै पद रिक्त छ।
निर्वाचन आयोगले धरान उपमहानगरसहित देशभर रिक्त रहेको प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीयतहको वडा अध्यक्षसम्मको उपनिर्वाचन गर्ने तयारीलाई तीब्रता दिएसँगै ती क्षेत्रमा पनि चुनावी सरगर्मी बढेको छ।
उम्मेदवारको आकांक्षी धेरै देखिएपछि धरानमा सत्तारुढ पार्टी नेकपालाई उम्मेदवार सिफारिश गर्न निक्कै गाह्रो भइरहेको छ। कार्तिक १० गतेभित्र धरानको उम्मेदवार माथिल्लो कमिटीमा सिफारिश गर्नुपर्ने पार्टीको निर्देशन छ।
धरानमा सधै कम्युनिस्टले जित्दै आएकोले पनि नेकपाभित्र उम्मेदवार आकांक्षी धेरै छन्। नेकपामा साविक एमालेबाट जिल्ला कमिटि सचिवालय सदस्य प्रकाश राई र प्रदेश कमिटि सदस्य विजय राई उम्मेदवारको दौडमा अघि छन्।
यस्तै, चर्चामा साविक एमालेबाटै पुर्वमेयर मनोज मेन्याङबो, पदम लिम्बू, इन्द्र राईलगायत पनि छन्। नेकपाबाटै साविक माओवादी केन्द्रबाट अइन्द्रबिक्रम बेघा, चोत्लुङ, अशोक राई पनि उम्मेदवारको वलिया आकांक्षी छन्। बेघा गएको स्थानीयतह निर्वाचनमा मेयरमा तेस्रो स्थान भएका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया