५ कार्तिक २०८३, बिहिबार

सेटिङमा मिर्गाैला व्यापार: काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । मानव शरीरको महत्वपूर्ण अंग मिर्गाैला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ ।

हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गाैला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ । यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरमा हुने गरेको छ । स्रोतका अनुसार काँकडभिट्टा–पानीटंकी, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली ओसारपसारका साझा बिन्दु हुन् ।

मुख्यतः घरपरिवारको खर्च जोहो गर्नका लागि न्यून आए भएकाहरू मिर्गौला दिन तयार हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि १० प्रतिशतसम्म सबै खालको मिर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनअनुसार गरिब परिवार नै मानव अंग बेचबिखनबाट पीडित हुने गरेका छन् ।बिचौलियाहरूले मिर्गौला प्रत्यारोपण गर्न चाहनेहरूलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाउँछ ।

तर, प्रत्यारोपण गरिसकेपछि पीडितले २० हजारदेखि ३० हजार रुपैयाँसम्म पाउने गरेको प्रतिवेदनले देखाउँछ । मिर्गौला बिक्री गर्नेहरूको जालो बढ्दै गए पनि तथ्यांक एकीकृत हुन सकेको छैन ।

गोरखा स्थायी घर भई चितवन भरतपुर बस्दै आएका २९ वर्षीय रविन बस्नेत (नाम परिवर्तन)को आर्थिक अवस्था कमजोर थियो । एक व्यक्तिले मासिक १० हजार रुपैयाँ तलब उपलब्ध गराउँछु भन्दै २०७३ साउनमा काठमाडौं ल्याए ।

उनलाई औषधि खुवाएर बेहोस पारियो । बेहोस पारी काठमाडौंबाट भारतको एक अस्पतालमा पुर्‍याई दायाँ भागको मिर्गौला निकाली दलालले बिक्री गरे । पछि होसमा आएका रवीनलाई गुन्डाले छुरी हानेकाले उपचारका लागि अस्पताल ल्याइएको बताए ।

अन्ततः सोसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा प¥यो । अदालतले २०७५ चैतमा गरेको फैसलामा ‘दोषी ठहर भएकाले ११ वर्ष कैद, २ लाख २५ हजार रुपैयाँ जरिमाना र पीडितलाई २ लाख क्षतिपूर्ति दिलाउनू’ भनिएको छ ।

अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप (ओएससीई) नामक संस्थाले तयार पारेको प्रतिवेदनले मानवअंग बेचबिखनका पीडित गरिब भएका तथा निजहरूलाई अंग प्राप्त गर्ने व्यक्तिले तिरेको रकमको नगन्य अंश मात्र पाउने गरी आफ्ना अंग बिक्रीका लागि दलालबाट धम्क्याइने एवं बल प्रयोग हुने गरेको पाइएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।