काठमाडौं, ३० असाेज । फुंग उडेको कपाल । जतिखेरै आत्तिइरहेजस्तो अनुहार । पोकोपन्तुरो च्यापेर भोजपुर बजार चहारिरहने ३० वर्षीया नरमाया (नाम परिवर्तन) को रात सडकपेटीमै बित्थ्यो । यस्तो बेवारिस जिन्दगी उनको बाध्यता थियो ।
भोजपुरको टेम्केमैयुङ–२ छिनामखुकी उनी १० वर्षकै उमेरमा बलात्कृत भइन् छिमेकी १९ वर्षीय किशोरबाट । बाबु भारतको कोइलाखानीमा काम गर्थे । १५ वर्षपछि त्यहाँबाट फर्किएका उनले कान्छी भित्र्याए । छुट्टै बस्न थाले । जेठीपट्टि नरमायासहित दुई छोरा थिए ।
पारिवारिक अवस्था कमजोर थियो । यसैको फाइदा उठाउँदै घटना गाउँमै सामसुम पारियो । तर, नरमायाप्रतिको सामाजिक दृष्टिकोण कठोर हुँदै गयो । आडभरोसा चाहिएका बेला घरपरिवारको माया र हेरचाहसमेत घट्दै गयो । उनले विस्तारै मानसिक सन्तुलन गुमाइन् । घरै छाडेर हिँडिन् । त्यसपछि नै हो, उनको सडकवास भएको ।
६ वर्षअघि २६ वर्षको उमेरमा उनी फेरि बलात्कृत भइन् । भोजपुर सदरमुकामकै पानीट्यांकीस्थित फर्निचर उद्योगमा काम गर्ने युवकले बारीमा लगेर जबरजस्ती करणी गरे ।
पारालिगल समितिको सहयोगमा जिल्ला प्रहरीमा उजुरी पनि दर्ता भयो । महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सुशीला तामाङका अनुसार प्रहरीले युवकलाई ६ महिना हिरासतमा राखेको थियो ।
समितिले नरमायाकी आमालाई समेत झिकायो तर उनको सोझोपन र गरिबीको फाइदा उठाउँदै पुनरावेदन गरेका युवकले मुद्दा जिते । त्यसपछि उनी पत्नी र छोराछोरी छाडेर भोजपुरबाटै भागे ।
बलात्कारलगत्तै जाँच नहुँदा प्रमाण नष्ट भइसकेकाले नरमायालाई न्याय दिलाउन नसकिएको त्यति बेला समिति सचिव रहेकी तामाङले बताइन् ।
बलात्कारको सिकार भएका बेवारिस महिलाहरू न्यायको पहुँचबाट टाढै रहेका घटना अरू पनि छन् । न घरपरिवारको साथ छ न राज्यको । उनीहरू पीडा सहेरै बाँचिरहेका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया