काठमाडौं, २९ असाेज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ ।
नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसविषयमा छलफल भए पनि कसलाई उम्मेदवार बनाउने विषयमा कसैले प्रस्ताव गरेका छैनन् ।
तर, सभामुखको बनाउने विषयमा तत्कालीन एमाले र माओवादी तर्फका नेताबाट आ–आफ्नो तरिकाले पार्टी भित्र लबिङ सुरु गरेका छन्।
संविधानको धारा ९१ ले सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख गरेको छ। त्यसबमोजिम सभामुख पनि नेकपाले लिने भएमा उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था आउँछ। नेकपाले सभामुख लिने निर्णय गरिसकेको छ।
तत्कालीन एमालेको कोटाबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन् भने तत्कालीन नेकपा माओवादीको कोटाबाट कृष्णबहादुर महरालाई सभामुख बनाइएको थियो।
पार्टी एकीकरण भई नेकपा बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन पुगेका थिए जुन संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिटसमेत परेको छ ।
अब नेकपा पार्टी भएकाले को माओवादी को एमाले भनेर छुट्याउन नहुने नेकपाकै नेताहरूको धारणा छ। संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले पनि एउटै पार्टीभित्र दुईथरी पार्टीको कुरा अब गर्न नहुने बताउँदै आएका छन् । नागरिक दैनिकले समाचार छापेकाे छ ।















प्रतिक्रिया