५ कार्तिक २०८३, बिहिबार

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असाेज । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो।

हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो।

समितिले पशुपति भण्डार तहबिल कार्यालयलाई ‘भक्तजनले चढाएको सुन र चाँदीको सम्पूर्ण विवरण समावेश भएको छ, छैन ? नभएको भए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाएको सुन र चाँदीसमेत खुल्ने गरी’ जानकारी दिन पत्राचार गरेको थियो।

प्रतिवेदन आउनुअघि कोषसँग न आफ्नो जग्गाबारे कुनै प्रामाणिक अभिलेख थियो न त सुनचाँदीबारे नै। ‘पशुपतिनाथको नाममा रहेका चलअचल सम्पत्ति सार्वजनिक गरेरै छोड्छौं। गम्भीर छानबिन र विशेष ताकेतापछि करिब ४५ किलो ६३६ ग्राम सुन रहेको तथ्य फेला पारेका हौं’, समिति संयोजक एवं कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले भने।

अघिल्लो प्रतिवेदनअनुसार पशुपतिनाथमा ५६ वर्षको अवधिमा जम्मा ९ किलो २७६.६४ ग्राम सुन देखिएको थियो। कोषमा २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण पनि अभिलेखमा थिएन।

२०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ सालको पनि सुनको अभिलेख भेटिएको छैन। ‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले भने, ‘सुन ढुकुटीमा नराखी गायब बनाइएको हुन सक्छ।’ यही शंकाका आधारमा खोजी गर्दा करिब ४५ किलो सुन फेला परेको डा. थापाले बताए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।