गौर, २७ असाेज । १२ वर्षअघि इँटाभट्टामा जलाएर दुईजनाको हत्या गरेको अभियोग लागेका सांसद मो अफताब आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वाेच्च अदालतले उनलाई नियन्त्रणमा लिई ‘कानुनी कारबाही गर्न’ ७ वर्षअघि आदेश दिएको थियो । त्यसयता उनी दुईपटक संसद् सदस्यमा प्रतिस्पर्धा गरिसके । २०७० मा हारे र २०७४ मा जिते ।
सर्वोच्चको आदेश फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पक्रन पटक–पटक आदेश दिँदै आएको थियो । पद र सत्ताको प्रभावमा उनी बच्दै आएका थिए ।
रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित आलम आइतबार बिहान पिप्राभगवानपुरमा पक्राउ परेका हुन् । भारतीय नम्बरको बीआर ०६ पिई १२०२ नम्बरको गाडीमा उनी वैवाहिक कार्यक्रममा जाँदै थिए ।
गौर–चन्द्रपुर सडक खण्डको इद्रिसगेट नजिकै प्रहरीले समातेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले बताए ।
२०६४ मा भएको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ मा भएको बम विस्फोटमा घाइते भएका युवालाई जलाएर हत्या गरेको घटनाका आरोपी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने २४ वर्षीय त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर ज्यान गएको थियो ।
राजपुर गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए ।
पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोहीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वाेच्चले २०६९ जेठ १६ मा मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो ।
अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए ।
निर्देशनालयले २०७५ चैत ८ मा जिल्ला प्रहरी कार्यालयलाई ताकेता गर्दै मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी सांसद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
सर्वोच्चको आदेशअनुसार आलमलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । अन्य आरोपी फरार छन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया