५ कार्तिक २०८३, बिहिबार

सांस्कृतिक झाँकीसहित स्वागतमा सर्वसाधारण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असाेज । सधैं कोलाहल र हतासमा देखिने काठमाडौं शनिबार शान्त र सौहार्द देखिन्थ्यो ।

विभिन्न समयमा हुँदै आएका विशिष्ट व्यक्तिको सवारीका कारण सास्ती बेर्होर्दै आएका सर्वसाधारण शनिबार भने चिनका राष्ट्रपति सी चिनफिङको भ्रमणमा कुनै कमजोरी नहोस् भन्दै आफैं सहज वातावरण तयार पार्न लागिपरेका देखिन्थे ।

अरू समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्ने सुरक्षाकर्मीका लागि शनिबार भने सर्वसाधारणले आफैं सहज बनाउन सहयोगी बने ।

सर्वसाधारणको साथ पाएका सुुरक्षाकर्मीले समेत सी विमानस्थलमा उत्रिसकेपछिको समयमा भएका छिटफुट सर्वसाधारणको आवागमनलाई रोक्ने प्रयास गरेन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गरिन् । यता, सीको स्वागतमा सडकमा सर्वसाधारण आफ्नो देशमा भित्रिएका विशिष्ट पाहुनालाई स्वागत गर्न सांस्कृतिक झाँकी र बाजागाजासहित प्रतीक्षामा गर्दै थिए ।

सी विमानस्थलमा उत्रनुअगावै उनको सवारी रुटमा पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, माइतीघर, थापाथली त्रिपुरेश्वर हँुदै सोल्टी होटल र सोल्टीदेखि राष्ट्रपति निवाससम्म जाने सडक छेउछाउ नेपाल र चीनको झन्डा हातमा फहराएर लामबद्ध बसेका थिए । यसरी लामबद्ध हुनेहरूमा स्वदेशीदेखि चीन, स्लोभाकिया, अस्ट्रेलिया तथा डेनमार्कका विदेशीसम्म भेटिए ।

सडकमा जम्मा भएका हजारौं कर्मचारी, विद्यार्थी, वृद्धवृद्धादेखि बालबालिका, विभिन्न वर्ग र समुदायका व्यक्ति विभिन्न सांस्कृतिक विशेषता झल्कने पोसाक र बाजागाजासहित लामबद्ध बनेर सीको स्वागत गरे ।

सर्वसाधारणले चिनियाँ राष्ट्रपति चिनफिङलाई नेवारी, गुरुङ, मगर, थारूलगाायतका समुदायका सांस्कृतिक विशेषता झल्कने झाँकी र नाचले सडकबाटै स्वागत गरका थिए ।

२३ वर्षपछि भएको जनवादी गणतन्त्र चीनका राष्ट्रपतिको नेपाल भ्रमणबाट उत्साहित बनेका सर्वसाधारणले सडकमा लामबद्ध भएर नेपाल र चीनबीच सुमधुर सम्बन्धको निरन्तरताको कामना गरेका थिए । राजधानी दैनिकले खबर छापेकाे छ ।