काठमाडौं, १४ फागुन । भारतीय नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ लाई नयाँ दिल्ली उडान अनुमति प्रदान गरेको छ ।
भारतीय उड्डयन प्राधिकरणले बुधबार साँझमात्रै उडान अनुमति दिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो । उहाँले आगामी शुक्रबारदेखि उडान सुरु गरिने बताउनुभयो ।
उडान अनुमतिमा ढिलाइ हुँदा बुधबार तय गरिएको निगमको काठमाडौं–दिल्लीको पहिलो उडान रद्द भएको थियो ।
निगमका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ ।
निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।
हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज नेपाल भित्र्याएको थियो ।














प्रतिक्रिया