६ कार्तिक २०८३, शुक्रबार

कहिलेसम्म ज्यानमारा जाम ? जामकै कारण एकको ज्यान गयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असाेज । चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् ।

काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडकखण्डमा घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् ।

नागढुंगा–नौबिसे सडकखण्डमा लामो जामका कारण समयमै अस्पताल पु¥याउन नसक्दा शुक्रबार रौतहट गौर नगरपालिका–७ का ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भएको छ ।

पृथ्वी राजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला मृगौला रोगबाट पीडित साहको बिहान पाँच बजे बसमै निधन भएको हो । साह चढेको ना७ख ५३६४ नम्बरको बस राति २ बजेदेखि ५ बजेसम्म जाममा फसेको थियो ।

सडक बिग्रिएर दयनीय बनेको छ भने सडकभरि ठूला खाल्टाखुल्टी परेका छन् । निरन्तरको वर्षाका कारण सडक मर्मत हुन नसक्दा पनि जाम बढेर गएको हो ।

एक सातादेखि नागढुंगा–नौबिसे तथा कोटेश्वर–जडिबुटी सडक खण्डमा घण्टौं जाम हुँदा हजारौं यात्रु समस्यामा पर्दै आएका छन् । सडक विभागका प्रवक्ता शिवहरि सापकोटा देशैभरको सडक मर्मत गर्ने तयारीमा रहे पनि मौसमका कारण प्रभावित भएको बताउँछन् ।

उपत्यकाबाट बाहिरिने नाकामा बाहिरिन सामान्य समस्याजस्तै देखिए पनि भित्रिने सवारी साधन भने घण्टौं जाममा पर्दै आएका छन् । नागढुंगा–नौबिसे सडकखण्डमा ठूलाठूला मालवाहक सवारी भित्रिने र बाहिरिने हुँदा पनि जाम बढेको हो ।

काठमाडौं भित्रिने अधिकांश सवारी साधन सामान बोकेर आएका लोड गाडी हुने हुँदा सडक पनि छिटोछिटो भत्किने र खाल्टाखुल्टी पर्ने गरेको छ ।

नौबिसेदेखि नागढुंगातर्फ ६ किलोमिटर सडक क्षेत्र रहे पनि हाल १० घण्टासम्म जाममा फस्नुपरेको यात्रुहरूले गुनासो गरेका छन् । त्यस क्षेत्रमा अहिले चाडपर्वलाई लक्षित गरेर पिच गर्ने काम भइरहेको छ । त्यसले पनि जाम थपिन पुगेको हो । राजधानी दैनिकले समाचार छापेकाे छ ।