१५ कार्तिक २०८३, आइतबार

लैंगिक हिंसा र बेचबिखनबारे विद्यार्थीलाई सचेतना कार्यक्रम

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कपिलवस्तु, ७ असोज । समाजमा हुने विभिन्न खाले सामाजिक विकृतिमा कमी ल्याउन जिल्लाका विभिन्न संघसंस्थाहरुले नेपाल प्रहरीको समन्वयमा विद्यालयस्तरीय सचेतनामूलक अभियानमा तीव्रता दिएका छन् ।

सामाजिक विकृतिका प्रभाव र यसबाट बच्ने उपायबारे सचेतीकरण गरिएको हो । जिल्लाको पश्चिमी क्षेत्रका विभिन्न विद्यालयहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको बताइएको छ ।

कार्यक्रममा “लागूऔषध दुव्र्यसनी, मानव वेचविखन तथा ओसारपसार, लैंगिक हिंसा र डेङ्गु रोग नियन्त्रण” सम्बन्धी जनचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत देबी विद्यापीठ मा.वि. शिवानगर र रामगोरखा मावि बहादुरगञ्जका विद्यार्थीलाई प्रशिक्षण दिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

कार्यक्रममा शान्ति पुनस्थापना गृह, आफन्त नेपाल, मधेश मानव अधिकार गृह (माहुरी होम) ले इलाका प्रहरी कार्यालय कृष्णनगरसँग सहकार्य गरी कार्यक्रम गरेको शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईले बताएका छन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

यता दियालो नेपाल र वडा प्रहरी कार्यालय चन्द्रौटाको साझेदारीमा शिवराजका विभिन्न विद्यालयका मानव बेचविखन तथा ओसारपसार, लागूऔषध दुव्र्यसनी, लैंगिक हिंसा लगायतका सवालमा सहजीकरण गरिएको छ ।

कार्यक्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक मोतीलाल योञ्जनले सहजीकरण गरेका थिए । बाल शिक्षा मावि हल्लानगर र राष्ट्रिय मावि चन्द्रौटामा कार्यक्रम सम्पन्न भएको महिला मानव अधिकारकर्मी मीना परियारले जानकारी दिएकी छन् ।

पछिल्लो समय समाजमा भइरहेका विभिन्न खालका घटनामा कमी ल्याउन र बालबालिकामार्फत समाजमा जनचेतना फैलाउन विद्यालय केन्द्रित अभियान संचालन गरिएको परियारको भनाई छ ।