६ कार्तिक २०८३, शुक्रबार

फगिङले लार्भा जीवितै, धुवाँले पनि नियन्त्रण भएन डेंगु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदाै । पछिल्लो चार महिनामा डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ। ६२ जिल्लामा संक्रमण फैलिएको सरकारी तथ्यांक छ।

तर डेंगुबाट जोगिने उपायबारे ८७ प्रतिशत नागरिक अझै अनभिज्ञ छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षणले यस्तो तथ्य फेला पारेको हो।

परिषद्ले चितवन, धादिङ, काठमाडौं, ललितपुर, नुवाकोट र रसुवाका ६ सय ६० जनामा सर्वेक्षण गरेको थियो। परिषद्का अनुसार माथिल्लो भूभागका जिल्लामा १६ प्रतिशत नागरिकलाई मात्र डेंगुबारे थाहा छ।

तल्लो भूभागका जिल्लामा ५३ प्रतिशत जनताले डेंगुबारे सुनेको परिषद्ले जनाएको छ। यीमध्ये १३ प्रतिशतले मात्र डेंगु रोकथामका उपाय अपनाएका छन्।

डेंगु प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरिरहेका कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाह भन्छन्, ‘लामखुट्टेको अण्डा, लार्भा नष्ट गर्नुबाहेक विकल्प छैन । जनचेतना फेलाउन ढिलाइ भइसक्यो।’ एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु लाग्छ। मानिसबाट मानिसमा यो रोग सर्दैन।

टोलटोलमा धुवाँउने विषादी (फगिङ) प्रयोग गर्दा पनि डेंगु फैलाउने लामखुट्टेको लार्भा जीवितै भेटिएपछि नियन्त्रणको त्यो उपाय प्रभावहीन भएको छ।

फगिङ विधिले वयस्क लामखुट्टे मात्र मर्न सक्ने तर अण्डा र लार्भा नष्ट गर्न नसक्ने विज्ञहरूले नै बताएका छन्। धुवाँबाट नियन्त्रण गर्न खोज्दा मुटु र दमका बिरामी, गर्भवती आदिलाई असर गर्ने भएकाले जैविक विधि अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

‘धुवाँउने विषादी (फगिङ) जस्ता वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर उत्पन्न गर्ने र डेंगुवाहक लामखुट्टेका प्रजातिको जनसंख्या नियन्त्रण गर्न नसक्ने उपाय अवलम्बन गर्नुभन्दा विश्वमा प्रचलित प्रभावी विधिको अभ्यास गर्न ढिलो गर्नु हुँदैन’, परिषद्द्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले फगिङले गर्भवती र बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताए। परिषद्द्वारा आयोजित पत्रकार सम्मेलनमा डा. इशान गौतमले फगिङ विधिले फोक्सोमा असर गरी दमको जोखिम हुने बताएकाे समाचार अन्नपूर्ण पाेस्ट दैनिकले समाचार लेखेकाे छ ।