काठमाडौं, ३१ भदाै । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ। शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो।
पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच अन्तरविरोध चुलिएको छ। दुवै जनाले अध्यक्ष पुष्पकमल दाहाललाई नेता मान्छन्।
मधेसमा भने उनीहरू आआफ्नो समूह बनाउन क्रियाशील छन्। पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन्। पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कातिर देखिएका छन्।
यही समीकरणका आधारमा नेताहरूले संगठनात्मक भागबन्डा खोजी गर्दा विवाद बढेको हो। यसले गर्दा प्रदेशका आठमध्ये तीन जिल्ला कमिटीका पदाधिकारीको शपथ रोकिएको छ।
नेपाल र यादव पक्षका नेता सोमबार प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई कारबाही माग गर्दै अध्यक्ष पुष्पकमल दाहालकहाँ डेलिगेसन पुगेका छन्।
सहइन्चार्ज नागेन्द्र चौधरी, महेन्द्र पासवान, नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, भरत शाह, गोपाल ठाकुरलगायत केन्द्रीय सदस्य टोलीमा थिए। वनमन्त्रीसमेत रहेका यादव भने नयाँदिल्ली पुगेका छन्। यादव मंगलबार फर्किएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र दर्ता गराउने तयारी गरेका छन्।
नेकपाको २ नम्बर प्रदेश कमिटीमा एक इन्चार्ज, तीन सहइन्चार्ज र एक-एक अध्यक्ष र सचिव छन्। यीमध्ये चार नेता (इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेल) एकातिर छन्। दुई नेता (सहइन्चार्जहरू नागेन्द्रप्रसाद चौधरी र महेन्द्र पासवान) अर्कातिर छन्। इन्चार्ज मण्डल र सचिव प्याकुरेल ओली पक्षका नेता हुन् भने सहइन्चार्ज चौधरी नेपाल पक्षका।
भदौ २४ गते बर्दिबासमा ओली-साह समूह एकातिर र नेपाल-यादव समूह अर्कातिर भएपछि झडप भएको थियो। त्यसपछि चार नेताको बैठकले नेपालसहितका नेतालाई कारबाही गर्नुपर्ने माग गरेको छ।
बर्दिबास घटना नेपाल र यादवको निर्देशनमा भएको निष्कर्ष बैठक निकालेको थियो। नेताद्वयलाई आवश्यक कारबाही गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सहइन्चार्ज पासवानलाई केन्द्रीय समिति, गंगा पासवान र फुल्गेन नायकलाई प्रदेश कमिटी र पूर्वमन्त्री उमेश यादवलाई साधारण सदस्यबाट हटाउनुपर्ने पनि उनीहरूको माग रहेकाे अन्नपूर्ण पाेस्ट दैनिकले समाचार लेखेकाे छ ।















प्रतिक्रिया