१२ मंसिर २०८३, शनिबार

रुपन्देही हत्याकाण्ड : छोराको जीवन बीमा गराउन आएका बाबु आफैले जीवन गुमाए

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिका– ५ का महेन्द्र कुर्मी आइतबार आफ्नो ८ महिनाको छोराको जीवन बीमा गराउन सदरमुकाम भैरहवा आएका थिए । छोरा अभी कुर्मीको जीवन बीमा गराउन गएका बाबु आफैले जीवन गुमाउनु पर्यो ।

भैरहवास्थित हिमालयन बैंक बाट ५ लाख रुपैयाँ निकालेपछि जीवन बीमा गराउन गएका कुर्मीले छोराको जन्मदर्ता घरमै छुटेको थाहा भएपछि पछि बीमा गराउँला भनेर फर्किने क्रममा उनको गोली हानी हत्या भएको हो ।

हत्या कसले गर्यो अहिलेसम्म रहस्यमय छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक बीरेन्द्र बहादुर शाहीका अनुसार घटनाको बिषयमा अनुसन्धान भैरहेको छ अहिले केही भन्ने मिल्ने अवस्था रहेको छैन ।

वैदेशिक रोजगारीका लागि १२ बर्ष कतार पुगेर २०७४ चैतमा घर फर्किएका कुर्मीले नेपाल आएर खेती किसानी गरेर घर परिवार चलाउँदै आएका थिए । उनको घरमा ६० वर्षका बुबा कृष्णलाल कुर्मी, श्रीमती ३५ बर्षिय बिजय लक्ष्मी कुर्मी २ वटा छोरी १६ बर्षिय सोनम कुर्मी, ८ बर्षिय सोनिया कुर्मी, ८ महिनाका छोरा अभि कुर्मी रहेका छन् ।

श्रीमतीको दावी- भाईबुहारीकै योजनामा भयो हत्या

सोमबार मृतक महेन्द्र कुर्मीको घरमा पुग्दा परिवार शोकमा डुबेको थियो । कुर्मीको हत्यासँगै परिवारमा सन्नाटा छाएको छ । कुर्मी हत्याको पीडामा श्रीमती बिजय लक्ष्मीको अवस्था ज्यादै कमजोर बनेको छ भने जेठी छोरी सोनमले सबैलाई सम्हालिरहेकी छन् ।

बिजय लक्ष्मी नेपाली बोल्न राम्ररी सक्दैनिन् उनिकी छोरी सोनमले आमाले भनेको कुरा सबै बेलिबिस्तार गरेर सुनाइन् ।

भाई केआइ कुर्मीको २०७४ कार्तिकमा मृत्यु भएपछि चैतमा महेन्द्र नेपाल आएका थिए । नेपाल आएको केही समयपछि भाईबुहारी मालती कुर्मीले अंश माग्दै झगडा गर्न शुरु गरिन्, त्यसपछि महेन्द्रले उनलाई गाउँमै रहेको आर्को घरमा बस्न दिए ।

गत जेठ महिनामा रोपाईको समयमा मालती महेन्द्रको खेतमा पुगेर झगडा गरेकी थिइन् । झगडा गर्ने क्रममा मालतीले जेठानी बिजय लक्ष्मी, मालतीको बुवाले ससुरा कृष्णलाल र मालतीको भिनाजु रामनिवास चौधरीले महेन्द्रलाई हातपात समेत गरेका थिए । हातपात गर्ने क्रममा महेन्द्रको हात लगायतमा चोटपटक पनि लागेको थियो ।

झगडा गर्ने क्रममै मालतीले भिनाजु रामनिवासको सहयोगमा महेन्द्रलाई ज्यान मार्ने समेत धम्की दिएको बिजय लक्ष्मीले दावी गरिन् ।

घटनाको बारेमा कुरा गर्ने क्रममा बिजय लक्ष्मीले भनिन् ‘अगाडी मोटरसाइकल चालएको मान्छेले गोली हानेको हो पछाडी बसेको मान्छेको आखा हेर्दा मालतीको भिनाजु रामनिवासको जेठो छोराको सँग मिल्छ ।’

जेठी छोरी सोनम भन्छिन् – अन्टी मालती र उसको भिनाजुनै हो मेरो बुवाको हत्या गर्ने 

मृतक महेन्द्र कुर्मीको घरमा पुग्दा परिवार शोकमा डुबेको अवस्थामा पनि जेठी छोरी सोनम भने मजबुत देखिएकी थिइन् ।

उनि आफ्नो अन्टी मालती र उसको भिनाजु रामनिवासकै योजनामा बुवा महेन्द्रको हत्या भएको दावी गर्छिन् । सोनमका अनुसार अन्टी मालतीको भिनाजु रामनिवासको छोराहरुले भैरहवा गए गायव पार्ने खालका धम्की दिने गरेको दावी गरिन् ।

सोनमकै कुरामा उनिकी सानी आमाकी छोरी सबिता कुर्मी थप्छिन् ‘हामीले पनि धेरै पटक मालतीले आउँदै झगडा गर्ने हातपात गर्ने धम्काउने गरेको देख्दै आएका छौँ । आइतवार घटना भएपछि मालतीको भिनाजु रामनिवास त्यत्रो पैसा बोकेर हिँडेपछी जसले पनि हत्या गर्छ लुट्नको लागि भनेर हाँस्दै हिडेका थिए ।’

मालती र उनका माइती परिवार घर पनि आएनन्, मलामी पनि गएनन्

महेन्द्रकी जेठी छोरी सोनमका अनुसार एउटै गाउँका भएपनि मालती र उनका माइती बुवाको हत्या भएको थाहा भएपनि घरमा सहानुभूती दिन समेत आएका छैनन् । त्यस्तैगरी, सोमबार महेन्द्रको अन्तिम दाहसंस्कारमा घाटसम्म पनि मालतीका माइती परिवारका कोही पनि पुगेका थिएनन् ।

छिमेकीहरु भन्छन् – महेन्द्र सोझा थिए

छिमेकीका अनुसार महेन्द्र एकदमै सोझा थिए । छिमेकी फुला बेलदारले भनिन्म, ‘महेन्द्रको दुस्मन कोही पनि थिएन तर, मालती र उनका माइतीले भने जहिले पनि महेन्द्र र उनको परिवारमाथी अत्याचार गर्दै आएको थियो ।’

गाउँका अन्य छिमेकी दिलिप गुप्ता, राम सुरत कुर्मी र सदाबृक्ष कुर्मी महेन्द्रको चालचलनको बारेमा फुला बेलदराकै कुरामा सहमत छन् ।

गाउँपालिका अध्यक्ष भन्छन् – दुखद् घटना

ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले घटना गम्भीर भएको बताएका छन् । उनका अनुसार ५ लाखको लागि हत्या भएको भन्दा पनि रिसिइवीको कारण भएको देखिन्छ ।

प्रहरीले यस घटनामा गम्भिरतापूर्वक अनुसन्धान गरोस् । गाउँपालिकाले महेन्द्रको काजक्रियाको लागि ५० हजार सहयोग गरेको छ ।