हेटौंडा । नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीलाई १७७ सदस्यीय जिल्ला संगठन कमिटीमा रूपान्तरण गरिएको छ ।
शुक्रबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले सीता विष्टलाई संयोजक, हिदम लामालाई सहसंयोजक, आरती पाठकलाई सचिव र फुर्बा दोर्जे लामालाई उपसचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लाका १० वटै स्थानीय तहको अधिवेशन आगामी पुस ४ गते र वडा अधिवेशन पुस २६ गते गर्ने निर्णयसमेत गरेको छ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै जनतामाझ प्रभावकारी उपस्थिति जनाउनुपर्नेमा जोड दिएका थिए । उनले पार्टीको नीति, विचार र योजनालाई जनस्तरसम्म पुर्याउन नेता तथा कार्यकर्ताहरू सक्रियताका साथ लाग्नुपर्ने धारणा राखेका थिए ।
बैठकको अध्यक्षता जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामाले गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरू एकालाल श्रेष्ठ, महेश बर्तौला तथा लेखा आयोग सदस्य नवीन सिग्देल लगायतको उपस्थिति रहेको थियो।
जिल्ला संगठन कमिटीको जिम्मेवारी बाँडफाँटसँगै एमाले मकवानपुरले पालिका तथा वडा अधिवेशनको तयारीलाई समेत अघि बढाउने भएको छ ।











प्रतिक्रिया