
काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने स्पष्ट पारेका छन् । उनले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न समेत संसदीय समितिहरुलाई सचेत गराएका छन् ।
संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनेको स्मरण गराउँदै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको गम्भिर ध्यानाकर्षण गराए ।
सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाब र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे ।
सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्ट पारे । उनले संविधानको अध्ययन गरेर सो अनुसार कानून, ऐन, निर्देशिका निर्माण भए÷नभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई कडा निर्देशन दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।











प्रतिक्रिया