
काठमाडौँ, ३० भदौ । नेपाल मजदुर किसान पार्टीको साताैँ महाधिवेशन आउँदो असोज ३ देखि ५ गतेसम्म हुने भएको छ ।
यसपटक महाधिवेशनको सबैभन्दा चासोको विषय नेतृत्व हस्तान्तरण बनेको छ । असोज ५ गते सम्पन्न हुने नेमकिपाको बन्दसत्रले नै पार्टीको अगामी नेतृत्व, कार्यदिशा र रणनीति तय गर्ने छ । महाधिवेशनमा ४८ जिल्लाबाट प्रतिनिधीहरु सहभागी हुने नेमकिपाले जनाएको छ ।
हाल अध्यक्षमा बिजुक्छे, सचिवमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति कोषाध्यक्षलगायत ३१ सदस्य वर्तमान केन्द्रीय कमिटी रहेको पार्टीले जानकारी दिएको छ ।
नेमकिपा वि.स २०३१ साल माघमा स्थापना भएको थियो । पार्टीको २०४७ साल पुस २८, २९ र ३० गते भैरहवा सम्पन्न प्रथम सम्मेलनदेखि २०७० साल चैत २१, २२, २३ र २४ गते काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनसम्म पार्टीको अध्यक्षमा सर्वसम्मत रुपमा नारायणमान बिजुक्छे चुनिदैँ आएका छन् ।
वि.सं. १९९६ साल फागुन २६ गते भक्तपुरमा जन्मिएका बिजुक्छे १५ वर्षको उमेरदेखि हालसम्म राजनीतिमा सक्रिय छन् ।
वि.सं. २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पूर्वी पाकिस्तान (बङ्लादेश) माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलालसँग मतभेद भएपछि समूह छोडेका थिए ।
२०३१ सालमा पुष्पलाल समूहबाट अलग भई बिजुक्छेले २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन् । पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दा उनले करिब १० वर्ष उच्च भूमिगत जीवन बिताएका थिए ।
नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई राजनीतिक सिद्धान्त मान्दै आएको छ । देशमा भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण रुपमा यो पार्टी सक्रिय रहदैं आएको छ ।
२०३७ साल जेठ १० गते सम्पन्न भएको जनमत संग्रहलाई निष्पक्ष र धाँधलीरहित बनाउन पाँच पूर्वाधारहरू अगाडि सारी ०३६ भदौ २४ गते भएको आन्दोलनमा पनि यो पार्टी सरिक थियो ।
वि.सं. २०४८को आम निर्वाचन, २०५१को मध्यावधि र २०५६, २०६४को संविधान सभा, २०७० र २०७४ सम्म नेमकिपा लगातार संसदमा प्रतिनिधीत्व गर्दै आएको छ ।
२०४८ सालदेखि ०७० सम्म लगातार निर्वाचन जित्ने नेताहरुमध्ये मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे एक हुन् । २०५१ सालको संसदीय चुनावमा नेमकिपाले चार स्थानमा जितेको थियो ।
२०६४ सालको संविधानसभा चुनावमा नेककिपाले प्रत्यक्षमा २ सिट र समानुपातिकमा तीन सिट जित्यो । २०७० सालको संविधानसभा चुनावमा भने नेमकिपाले प्रत्यक्षमा एक सिट मात्र जित्यो । प्रत्यक्ष एक र समानुपातिक तीन सिट गरी नेमकिपाले चार सांसदसहित संसदमा प्रतिनिधित्व गरेको थियो ।
२०७४ सालमा सम्पन्न प्रदेश र स्थानीय निर्वाचनमा ३ नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ एक र समानुपातितर्फ एक गरेर दुई सिट र स्थानीय तह अन्तरगत भक्तपुर नगरपालिकको सम्पूर्ण १० वडामा एकलौटी जित हासिल गरेको छ ।
हाल संघीय संसदमा प्रेम सुवाल, ३ नम्बर प्रदेश संसदमा सुरेन्द्रराज गोसाई र सिर्जना सैंजुले नेमकिपाको तर्फबाट प्रतिनीधित्व गर्दै आएका छन् ।











प्रतिक्रिया