काठमाडौँ, १२ फागुन । सरकारले चालु आर्थिक वर्षमा कुल विनियोजनको ९३ प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरेको छ ।
अर्थ मन्त्रालयको चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामा पुस मसान्तसम्म बजेट विनियोजनको तुलनामा खर्च भने अपेक्षित हुन नसके पनि गत वर्षको तुलनामा भने वृद्धि हुने उल्लेख गरेको छ ।
अर्थमन्त्री डा रामशरण महतका अनुसार हालसम्म पूँजीगत खर्चमा त्यति उत्साहजनक नभए पनि ठूला पूर्वाधारको ठेक्कापट्टा भई काम सुरु भएको, निर्माणका लागि मौसमी अवस्था अनुकूल हुन सुरु भएको र विगतको प्रवृत्तिका आधारमा आगामी छ महिनामा त्यस्तो खर्च बढ्नेछ ।
यस आवमा कुल रु पाँच खर्ब ५८ अर्ब ४३ करोड १३ लाख खर्च हुनेछ, यो कुल विनियोजनको ९२.६३ प्रतिशत हो भने गत आवको यथार्थ खर्चभन्दा २८.५५ प्रतिशतले बढी हो ।
त्यसैगरी अर्ध वार्षिक अवधिसम्म कूल रु एक खर्ब ६१ अर्ब ८४ करोड ४० लाख मात्र खर्च हुन सकेको छ । जुन कुल विनियोजनको २६.२० प्रतिशत मात्र हो । चालुतर्फ विनियोजनको ३०.९५ प्रतिशत, पूँजीतर्फ १२.६० प्रतिशत र वित्तीय व्यवस्थातर्फ २३.१९ प्रतिशत खर्च भएको छ ।
विभिन्न मन्त्रालयले बजेट स्वीकृत भएपछि मात्र कार्यक्रम बनाउने प्रवृत्तिका कारण पूँजीगत खर्च बढ्न नसकेको बताउँदै अर्थमन्त्री डा महतले स्वीकृत योजनालाई सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय आयमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमा मौसमको प्रतिकूल प्रभाव परेकाले अपेक्षित आर्थिक वृद्धि हुन नसक्ने देखिएको बताउँदै उद्योग र सेवा क्षेत्रको वृद्धि दर र हिउँदेबालीको अनुकूलताले समग्र आर्थिक वृद्धिदर गत आवकै हाराहारी भएको बताउनुभयो ।
अर्थमन्त्री डा महतले पहिलोपटक लगातार दोस्रो वर्ष ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गर्नुभयो ।
उहाँले समयमै बजेट पारित भएका, बन्द हडतालजस्ता क्रियाकलापमा कमी आएको र उद्योग तथा सेवा क्षेत्र विस्तार अर्थतन्त्रको संरचनात्मक पक्षमा सुधार भएकाले उद्योग र सेवा क्षेत्रको वृद्धिदर अनुकूल देखिएको जानकारी दिनुभयो ।
चालु आवमा मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान गरिकोमा अर्ध वार्षिक अवधिसम्मको औसत मुद्रास्फीति ७.३ प्रतिशत रही वार्षिक औसत मुद्रास्फीति लक्ष्यभन्दा कम रहने देखिएको बताउँदै उहाँले खाद्य र गैर खाद्य दुवै समूहको मुद्रास्फीति गत आवभन्दा कम रहेको उल्लेख गर्नुभयो ।
विगत केही वर्षदेखि बढ्दै गएको व्यापार घाटा चालु आवमा पनि उच्चदरमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले समीक्षा अवधिसम्म रु तीन खर्ब ४४ अर्ब ८३ करोडको व्यापार घाटा भएको जानकारी दिनुभयो ।
निर्यातमा आएको कमीले गर्दा व्यापार घाटामा वृद्धि भएको देखिएकाले आन्तरिक उत्पादनमा वृद्धि र निर्यातजन्य उत्पादनलाई प्रोत्साहन दिनुपर्ने चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो ।
समीक्षा अवधिमा राजस्वको लक्ष्य रु एक खर्ब ८५ अर्ब ४८ करोड ३३ लाख रहेकामा १०२.७२ प्रतिशत असुली भएको छ । यो असुली राजस्वको वार्षिक लक्ष्यको ४५.०५ प्रतिशत हो । राजस्व असुलीमा १६.५७ प्रतिशतको वृद्धि हासिल भएको छ ।
बजेट वक्तव्यमा उल्लेख भएका नीति तथा कानुनी परिमार्जनको काम अगाडि बढेको र केही कानुन व्यवस्थापिका–संसदको आगामी अधिवेशनमा पेस गर्ने तयारी रहेको बताउनुभयो ।














प्रतिक्रिया