६ कार्तिक २०८३, शुक्रबार

रोगसँग लड्दै विपन्न मुसहर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २० भदाै । धनगढीमाई नगरपालिका–११ स्थित बालुवाटोल मुसहर बस्तीकी ६५ वर्षीया मलभोगियादेवी सदायलाई डेढ महिनाअघि ज्वरो आयो ।

उनले स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गराइन्। निको भएन। अन्यत्र उपचार गराउन पैसा छैन। उनी अझै घरमै थलिएकी छन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै छ। छोराबुहारी मजदुरी गर्छन्। त्यसरी कमाएको पैसा खाद्यान्नमै सकिन्छ। उनीहरूसँग मजदुरीबाहेक अरू सीप छैन। घर पनि ऐलानी जग्गामा छ। ऋण कसैले पत्याउँदैन।

वैशाखमा सोही टोलका सुजित सदायका ४ वर्षीय छोरा करण खाना पकाउन तताउँदै गरेको भाँडोमाथि लडे। जिउभरि पोल्यो। उनलाई उपचार गराउन कतै लगिएन। घाउ दुख्दै गएपछि उनी विद्यालय जान छाडे। तीन दिनपछि दलित जनकल्याण युवा क्लबका प्रेमकुमार राम करणकै घरमा गएर स्वास्थ्य अवस्था बुझे।

त्यसपछि समाजसेवी बैजनाथ कार्की र प्रेमकुमार मिलेर उनलाई लहानस्थित राउ स्मारक अस्पताल पुर्‍याए। उनीहरूकै पहलमा क्लब र नगरपालिकाले उपचार खर्च १० हजार रुपैयाँ सहयोग गरे। करणलार्ई १४ दिन उपचार गराएर घर फर्काइएको छ।

‘गरिबीले थिचिएका छौं। मजदुरीबाट थोरै कमाइ हुन्छ। बचत छैन,’ ५७ वर्षीया गौरी सदायले भनिन्, ‘कसरी उपचार गराउनु ? ’ उनले उपचार नपाउँदा धेरै बिरामीले ज्यान गुमाएको बताइन्। टोलमा २२ मुसहर परिवारको बसोबास छ। सबैको घर ऐलानीमा छ। घर साना छन्। भान्सा र सुत्ने ठाउँ एकै ठाउँमा छ। पाहुना आए बाहिरै सुताउँछन्।