
काठमाडौँ, १८ भदौ । नेपाली सेनाले पर्सा-बाराका घुम्रपात (हावाहुरी) पीडितका लागि नेपाली सेनाले बनाएका ८६९ वटा घर हस्तान्तरण गरिएको छ ।
बुधबार वीरगन्जमा आयोजित औपचारिक कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई घर हस्तान्तरण गरेका हुन् ।
रक्षामन्त्री पोख्रेलले पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी मार्फत सम्बन्धित पालिकाकाका प्रमुखहरुलाई लगत्तै घर हस्तान्तरण गरे ।
नेपाली सेनाले जनता आवास कार्यक्रम मार्फतसरकारले दिएको रकममध्ये ३६ करोड ४६ लाख ७५ हजार ९६९ रुपैयाँ बचत गर्दै पीडितका घर निर्माण सकेको हो ।
५ लाख ४५ हजार ९८५ रुपैयाँ प्रति घरको लागत लाग्ने नेपाल सरकारको लक्ष्यअनुसार कुल ७९ करोड ३३ लाख १७ हजार ४८३ रुपैयाँ बजेट विनियोजन भएकोमा नेपाली सेनाले सेनालाई प्राप्त मापदण्ड अनुसारका प्रति घर ४ लाख ८४ हजा ८८८ रुपैयाँ ६० पैसामा नै निर्माण सम्पन्न गरेको जनता आवास कार्यक्रमका कमाण्डर सहायक रथी विनय बिक्रम राणाले जानकारी दिए ।

नेपाली सेनाले कम बजेट र छोटो समय र प्रतिकुल मौसममा पनि गर्न सक्नुमा राष्ट्रहित र जनअपेक्षा अनुसकारको निष्ठाको कारण भएको जनता आवास कार्यक्रम कार्यदलका अध्यक्ष उपरथी प्रभुराम शर्माले बताए ।
कार्यक्रममा रक्षामन्त्री पोख्रेलले नेपाली सेनाले पाएको जिम्मेवारी कौशलतापूर्ण ढंगले पूरा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट नेपाली सेनालाई दिएको बधाई सुनाए ।
उनले गएको बैशाख २१ गते शिलान्यास भएको यो कार्यमा तीनथरी सरकारले कसरी समन्वय गरी कार्य गर्नुपर्छ भन्ने एउटा दृष्टान्त प्रस्तुत गरेको बताए । राज्यको पूर्वदेखि पश्चिमसम्म एउटा भरोसा गर्ने संस्थाका रुपमा नेपाली सेना रहेको उनले प्रष्ट पारे ।











प्रतिक्रिया