
सुनसरी, १७ भदौ । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले रामधुनी नगरपालिकाको एक मात्र झुम्का कृषि बजारको उद्घाटन गरेकी छिन् ।
संघीय कृषि मन्त्रालयको ४० लाख सहयोगमा २९ वटा सटरसहीत निर्माण भएको बजार रामधुनी नगर आसपासको कृषकहरुका लागि व्यावसायीक केन्द्र बन्नेछ ।
उद्घाटनका क्रममा राज्यमन्त्री चौधरीले कृषिजन्य उत्पादनलाई वृद्धि गर्दै बजार व्यवस्थापनलाई पनि सँगसँगै लैजना योजनाअनुसार कृषि बजारहरुको स्तरोन्नति र बिस्तार गरीरहेको बताइन् ।
यस आर्थिक बर्षमा मात्रै सुनसरीमा ईटहरी, धरान, ईनरुवा र देवानगन्जमा पनि नयाँ कृषि उपज व्यापारीकरण भवनहरु निर्माण सम्पन्न भएको र केही हुने प्रक्रियामा रहेको मन्त्री चौधरीले जानकारी दिइन् ।
स्थानीय कृषि बजार निर्माणलाई निरन्तरता दिँदै प्रदेश–१कै नमूना र अत्याधुनिक कृषि थोक बजार ईटहरीमा बनाउने आफ्नो उद्देश्य रहेको र त्यसको लागि डिपीआर सकी आवश्यक बजेटको व्यवस्था पनि मिलाएको मन्त्री चौधरीले बताइन् ।
सुनसरीमा माछा, धान र अदुवा बेसार जोन संचालनमा रहेको र थप दुई वटा तरकारी र बंगुर जोनको लागि मन्त्रालयले बजेट बिनियोजन गरेको चौधरीले बताइन् ।
बिकास निर्माणमा सबै एकजुट भएर लाग्न सके छिट्टै परिणाम देखाउन सकिने बताएकी उनले सुनसरीका किसानहरुको उपज व्यवस्थापनका लागि रामधुनी, ईनरुवा र देवानगन्जमा छुट्टाछुट्टै ३ वटा शितभण्डारण घर निर्माणको लागि बजेट बिनियोजन भएको जानकारी दिइन् ।
रामधुनी नगरपालिकाको आयोजनामा आयोजित झुम्का कृषि बजार उद्घाटन समारोहमा नगरका उपमेयर सबिना चौधरी, नेकपा सुनसरी अध्यक्ष पप्पु मण्डल, नगर अध्यक्ष राम कोइराला र जनप्रतिनिधि वडा अध्यक्षहरु रुद्र बस्नेत, महेश चौधरी, डेगराज फुयाँलको पनि उपस्थिति रहेको थियोे ।
कृषि मन्त्रालयबाट बजार निर्माणको लागि छुट्याएको ४० लाख बजेटमा २७ लाख अठसठ्ठी हजार पचपन्न रुपैयाँमा निर्माण सम्पन्न भएको र १२ लाख ३१ हजार ९४ रूपया फिर्ता पठाएको नगरपालिकाका योजना शाखाका सब ईन्जिनियर हर्षलाल चौधरीले जानकारी गराएका थिए ।











प्रतिक्रिया