काठमाडाैं, १७ भदाै । नेपाली बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोर्दै गर्दा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फाङ सोइलिङले भेट गरेका छन् ।
फाङले सोमबार महानगरीय प्रहरी परिसर टेकु पुगेर पक्राउ परेका आफ्ना ६ जना नागरिकलाई भेटेका हुन् । शनिबार राति र आइतबार गरी प्रहरीले ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।
चोरीमा संलग्नले गलत गरेको भए पनि चीनमा रहेका आफन्तलाई उनीहरूको अवस्थाबारे जानकारी दिन आफूले भेट गरेको फाङले बताए । उनले नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउने प्रतिबद्धता पनि जनाएको काठमाडौं प्रहरी परिसरका डीएसपी बोगटीले जानकारी दिए ।
गत शनिबार नबिल बैंकको दरबारमार्गस्थित एटीएम बुथमा प्रभु बैंकको सिस्टमबाट अस्वाभाविक रूपमा रकम निकालेको जानकारी पाएपछि प्रभु बैंकका एक कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
त्यसलगत्तै अपरेसनमा खटिएको प्रहरी टोलीले तत्काल पाँच जनालाई पक्राउ गरेको थियो भने आइतबार थप एक जनालाई पक्राउ गरेको थियो ।















प्रतिक्रिया