काठमाडौं, १६ भदाै । प्रधानमन्त्री केपी ओलीले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले नेपाली महिलाहरूले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेका स्मरण गराएका छन् ।
“नेपालको सकारात्मक साँस्कृतिक परम्परामा महिला मुक्ति वा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,” तीजका अवसरमा प्रधानमन्त्रीले जारी गरेकाे शुभकामना सन्देशमा भनिएको छ, “आज नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरहरुबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानूनहरू बनिसकेका छन् ।”
प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाहरूको नागरिक तथा राजनीतिक अधिकारहरूको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताए ।
“राजनीतिक लगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाहरुको उपस्थिति उल्लेखनीय रहेको छ । महिलाको प्रतिनिधित्व संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करीब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ,” शुभकामना सन्देशमा भनिएको छ, “नीति निर्माणको तहमा महिलाहरूको यस प्रकारको उपस्थितीले आउँदा दिनहरूमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।”











प्रतिक्रिया