६ कार्तिक २०८३, शुक्रबार

एटीएम ह्याकबारे राष्ट्र बैंकले अनुसन्धान थाल्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । शनिबार चिनियाँ ह्याकरले नेपालका बैंकका एटीएम मेसिन ह्याक गरी करोडौं रकम निकालेको विषयमा प्राविधिक विषयको अनुसन्धान नेपाल राष्ट्र बैंकले थालेको छ।

राष्ट्र बैंक प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले विशेष टोलीले अनुसन्धान थालेको र साँझसम्ममा त्यसको प्रतिवेदन तयार हुने विवरणहरूमा उल्लेख छ ।

उनका अनुसार बैंकहरूको सिस्टममा अहिलेसम्म खतरा पुगेको छैन, एटीएम मेसिनका सफ्टवेयरमा ह्याकरको आक्रमण भयो । भुक्तानी प्रणाली विभागबाट उक्त विषयमा अनुसन्धान गरी कहाँ कमजोरी भएको भन्ने पत्ता लगाउनेछ ।

राष्ट्र बैंकले कसैको खाताबाट रकम गायब नभएको र सुरक्षित रहेको जानकारी पनि दिएको छ । दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट अनाधिकृत रुपमा रकम निकाल्दै गरेका पाँच चिनियाँ पक्राउ गरेपछि ह्याक भएको बारे तथ्य बाहिर आएको हो ।

चिनियाँ गिरोहले योजनाबद्ध तवरले एटीएम ह्याक गरेर पैसा लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका चिनियाँबाट प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजार भन्दा बढी अमेरिकी डलर बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमूख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

शुक्रबार नेपाल छिरेको यो गिरोह शनिबार ह्याक गरी रकम लिएर चीन फर्किने तयारीमा रहेको थियो । जसलाई प्रहरीले सफल हुन दिएन ।