
काठमाडौं, १४ भदौ । नेपाल प्रहरी महानिरिक्षक (आइजी) सर्वेनद्र खनालले कुनै पनि सामाजिक हिंसामा विषयमा प्रहरीले मिलापत्र गराउन छाडेको बताए ।
महिलाहिंसा न्युनिकरणका विषयमा प्रहरी सक्रिय रहेको बताएका खनालले दैनिक नेपालसँग भने,‘पहिला प्रहरी कार्यालयमा मिलापत्र गराइन्थ्यो भन्ने थियो, अहिले कुनै पनि युनिटले त्यस्ता काम गर्दैन । तपाईले सुन्नुभएको छ ? वा कसैले गुनासो गरेको छ त ?’
नेपालमा घरभित्र हुने वा समाजमा प्रत्यक्ष पहुँच नहुने घरेलु हिंसालगायतका अन्य विषयमा प्रहरीमा उजुरी दर्ता हुनु भने सचेतनाले काम गरेको बताएका उनले यस्ता घटनामा कानुनी कारबाहीको प्रक्रिया अघि बढाई न्युनिकरण गरिने पनि बताए ।
‘अहिले उजुरी दर्ताको क्रम बढ्नु भनेको अपराध सहन हुन्न र प्रहरीसम्म पुग्नपर्छ भन्ने चेतनाको काम हो’, उनी भन्छन्,‘विस्तारै यो उजुरीको दर घट्दै जानेछ जसले घरेलु र यौनहिंसामा पनि कमी आएको संकेत दिनेछ ।’
सामाजिक अपराध न्युनिकरणमा सक्रियता बढेको बताएका उनले गुन्डागर्दी, धम्की र फिरौतिका काम लगभग बन्द नै गराइएको र त्यस्तो कतै भएको भए प्रहरीलाई तुरुन्त सूचना दिनका लागि पनि अपिल गरेका छन् ।
‘कोही नागरिक पीडामा बस्न हुन्न, प्रहरीको नियन्त्रणमा आउने घटनाको तुरुन्त काम हुन्छ, त्यसैले नै अब्बल र राम्रा अफिसरले व्यावसायीक हिसाबले काम गर्नेछन्’, उनी भन्छन्,‘प्रहरीबाटै कतै कहिँ समस्या परेको जानकारी आए पनि त्यस्तालाई कारबाहीको व्यवस्था रहेको छ ।’
प्रहरी पनि यहि समाजबाट नै आउने भएको हुनाले कतिपय सामाजिक घटना र चेतनामा प्रहरीको कमजोरी छैन भन्न नहुने बताएका उनी भन्छन्,‘त्यसै कारण प्रहरीभित्र पनि कारबाहीका प्रक्रिया छन् । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था पनि छ ।’











प्रतिक्रिया