काठमाडौ, १४ भदाै । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राज्यका बारेमा बहस सुरु भएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।
यसअघि फाट्टफुट्ट धर्मबारे कुरा उठ्ने भए पनि बैठकमा लामो बहस चलेको थिएन । राजनीतिक प्रस्तावमाथि जारी छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टीको सिद्धान्तसमेत धार्मिक स्वतन्त्रता रहेको भन्दै धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्नु पर्ने माग गरेका हुन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले हिन्दु राष्ट्रको मुद्दाप्रति पार्टी गम्भीर बन्नुपर्ने बताए । ‘पार्टीको चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता हो ।
सरकार आफैंले राज्य कोषबाट होली वाईनजस्ता कार्यक्रम गरेर आम नेपालीको धार्मिक आस्थामाथि प्रहार गर्यो’ खाँडले भने, ‘महासमिति बैठकमा पनि झन्डै आधा सदस्यहरुले हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेर पार्टीलाई बुझाएका छन् । महासमिति बैठकले उठाएका विषयमा समेत पार्टी गम्भीर बन्नुपर्छ ।’
कांग्रेस नेता शेखर कोइरालाले आगामी पार्टी महाधिवेशनमा हिन्दु राज्य स्थापना गर्नेबारे पार्टीभित्रै ठूलै दबाव खडा हुने संकेत गरेका छन् ।
केन्द्रीय सदस्य फरमुल्लाह मंसुरले बिहीबारको बैठकमा महामन्त्री सशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला हिन्दु राज्य स्थापनाका लागि लागेको भन्दै आपत्ति प्रकट गरेका थिए ।
‘राष्ट्रियता जनावर गाई काट्न पाइँदैन भन्नु गलत हो ? होली वाईनको विरोध गर्ने तर संविधानमा लेखिएको ‘प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन भन्नु गलत हो ?’ शुक्रबारको बैठकमा शेखरले भने, ‘पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय चर्को रुपले उठ्छ । यसलाई कसरी व्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ ।’
मंसुरले दुई कोइरालाप्रति लक्षित गर्दै व्यवसाय गर्ने अनि बाबु–आमाको विरासतमा राजनीति गर्ने ? भन्दै आक्रोश पोखेका थिए ।















प्रतिक्रिया