
सुर्खेत, १३ भदौ । नेपालगञ्जबाट दैलेखको शीरस्थान लैजाने क्रममा बिहीबार राति बीच बाटोमै गाई फालेर फर्किएका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा भीरबाट गाई फालेर नेपालगञ्ज फर्कँदै गरेका पाँच वटा ट्रकलाई बबईबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको कान्जीहाउसमा रहेका गाई दैलेख लैजाने क्रममा बीच बाटोमै ट्रकबाट खसालिएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगरको कटकुवामा झन्डै २ सयको संख्यामा बेवारिसे गाई भेटिएका छन् । तीमध्ये २३ गाई भीरमा मृत अवस्थामा भेटिएका छन् भने ३० भन्दा बढी घाइते छन् । कानुनी प्रक्रिया पूरा गरी ल्याइएका गाई बीच बाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ८ वटा ट्रकमा गाई ल्याइएकोमा ५ वटा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक गाईको तथ्याङ्क संकलन गरिरहेको छ । करिव तीन किलोमिटरको दूरीमा गाईहरु छन् । भिरमा खसालेको अवस्थामा पनि मृतक चौपायाहरु फेला परेका छन् ।
गाई कसरी मरेका हुन् भन्नेबारे पशु चिकित्सकले अनुसन्धान सुरू गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले मरेका गाईको बाहिरी र भित्री पोस्टमार्टम गरिने बताए । चोटपटकले मरेका हुन् वा कुनै रोगले मरेका हुन् भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्
२३ वटा गाई मरेको अवस्थामा भेटिए











प्रतिक्रिया