नेपालगन्ज, ११ भदाै । नेपालगन्ज उपमहानगरपालिका–१९ वसुदेवपुरको आलानगरका २५० घरधुरी सुकुम्बासी बस्तीमा लालपुर्जा आतंक फैलिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।
पाँच दशकदेखि जोतभोग गर्दै आएको जमिनमा भूमाफियाको चलखेलका कारण दिनहुँ जसो नयाँ–नयाँ व्यक्ति अस्थायी पुर्जा लिएर जमिन खोज्दै आउन थालेपछि ५० वर्षदेखि जोतभोग गर्दै आएका स्थानीय किसान आतंकित हुन थालेका छन् ।
२०२६ सालदेखि २९ कट्ठा जमिन जोतभोग गर्दै आएका ७१ वर्षीय मीनप्रसाद पुनले हरेक दिनजसो नयाँ–नयाँ मान्छे हातमा नक्सा र लालपुर्जा लिएर आउँदा आफू आतंकित भएको बताए ।
उनले भने, ‘पटक–पटक सुकुम्बासी समस्या समाधान आयोग गठन भए पनि भनसुन गरिदिने र आयोगका मान्छेलाई खुसी बनाउन नसक्दा अहिलेसम्म लालपुर्जा छैन । ५० वर्षदेखि जंगल फाँडेर जोतभोग गर्दै आएको जग्गाको लालपुर्जाको मुखै नदेखी मर्ने भएँ । अहिले जग्गा नै अरूले लैजान आँटेको सुन्दै छु ।’
२०६६ सालमा जग्गा नापी हुँदा स्थानीय सुष्मा पुनले १८ महिनाको काखे नानी च्यापेर दौडधूप गरिन् । २० कट्ठा जमिनमा दुई दशकदेखि खेती गर्दै आएको दाबी गर्ने उनले भनिन्, ‘घरधुरी तिर्न पैसा पुगेन । त्यसैले लालपुर्जा बनाउनै सकिनँ । गरिबको जमिन हुँदा नि सुख छैन, नहुँदा नि सुख छैन ।’
त्यतिबेला १५२ वटा सेता (अस्थायी) पुर्जा वितरण गरिएकोमा अधिकांश गैरसुकुम्बासीले पाएको उनको दाबी छ । ‘वास्तविक सुकुम्बासीले पुर्जा पाएकै छैनौं,’ उनले भनिन्, ‘यहाँका झन्डै ८० घर लालपुर्जाविहीन छन् । ती सबै अहिले भूमाफियाको चंगुलमा परेका छन् ।’
सोही ठाँउका कुलबहादुर वंशी मगरले आफ्नो जग्गा दुई कित्ता काटेर अर्कैले लगेको बताए । दलबहादुर थापा मगरले पनि पाँच कट्ठा पाँच धुर जमिन भोगचलन गर्दै आएकोमा दुई कट्ठा पाँच धुर अरूकै नाममा कित्ताकाट गरिसकेको उनको भनाइ छ ।
नापी शाखामा बुझ्दा हेमलाल पौडेलको नाममा कित्ताकाट गरेको देखिएको उनी बताउँछन् । उनीसँग तीन कट्ठा जमिनको अस्थायी पुर्जा छ । ‘अस्थायी पुर्जा भएर के गर्नु ? स्थायी अरूले बनाउँदै छन्,’ उनले भने, ‘सरकारले छिट्टै छानबिन गरिदिए हामी सुकुम्बासीको आशीर्वाद लाग्थ्यो ।’
सोही ठाउँका आइतबहादुर दमाईले १६ कट्ठा जमिन जोतभोग गर्दै आएको पाँच दशक भयो । यस अवधिमा सुकुम्बासी आयोगले पटकपटक बस्तीमा बसोबास गर्नेमाथि छानबिन गरी लालपुर्जा वितरण गरे पनि उनी कहिलै सुकुम्बासीको सूचीमा परेनन् ।
त्यही जमिनमा खेतीपाती गरेर जीवन चलाइरहेका उनलाई अहिले ठूलो चिन्ता छ । घर रहेको र खेतीपाती गर्ने उनको जमिन भूमाफियाले कित्ताकाट गरेर बिक्री गरिसके ।
नेपालगन्ज–१९ को आलानगरमा २५० परिवार भूमिहीनको बसोबास छ । स्थानीयले २०२६ सालदेखि ऐलानी जमिन जोतभोग गरिरहेका अधिकांशले लालपुर्जा पाएका छैनन् । उनीहरू बसोबास गरिरहेको जग्गा बिक्री गर्न भूमाफियाले चलखेल गरिरहेका छन् । ऋाफ्नो नाममा जग्गा दर्ता गर्न विभिन्न व्यक्ति सक्रिय छन् ।
आइतबहादुरले भोगचलन गरिरहेको १६ कट्ठा जमिन सात जनाले मिलेर कित्ताकाट गरेर लालपुर्जा निकाल्ने तयारी गरिरहेको पाइएको छ । आइतबहादुरको नाममा ‘१९१’ र ‘१८९’ गरी दुई कित्ता छन् ।
ती दुई कित्ता शान्ति पौडेल, फूलमाया यादव, भगवती यादव, नृप कुँवर, कृष्णबहादुर कार्की, जितमाया सलामी, बाटुलादेवी पौडेल र खगेन्द्र बुढाको नममा टुक्राएको देखिन्छ । ‘घर भएको जमिनको समेत कित्ताकाट गरिएको छ, मलाई थाहै छैन,’ आइतबहादुरले भने, ‘किन्ने को हुन, बेच्ने को हुन्, केही थाहा छैन ।’















प्रतिक्रिया