
काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पार्टीका अन्य सदस्यको सार्वजनिक आलोचना गर्न नपाउने भएका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीका आज बसेको सचिवालय बैठकले सदस्यहरुले आफ्ना कुरा पार्टीभित्र मात्रै उठाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सार्वजनि रुपमा व्यक्तिगत टिप्पणी गरेमा कारबाही हुने बैठकले निर्णय गरेको छ ।
‘हाम्रो पार्टीको नेता, कार्यकर्ता वा अन्य सदस्यहरुको बारेमा पार्टीको केन्द्रदेखि तलसम्मका कुनै सदस्यहरुले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले आफूलाई लागेका कुराहरु उठाउनुपर्ने छ’, बैठकको निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीभित्र छलफलको विषय बनाउनुपर्ने छ।’
उनका अनुसार, पार्टीभित्र कुरा नराखी सार्वजनिक रुपमा लगिएमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिनेछ।
गत बिहीबार बसेको नेकपा सचिवालय बैठकका केन्द्रीय सदस्य एवम् प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले सचिवालय सदस्य माधव नेपालको विरूद्धमा लेखेको फेसबुक स्ट्याटस र बुधबार साप्तहिकले छापेको समाचारबारे ओली र नेपालबीच चर्काचर्की भएको थियो ।
त्यसअघि पनि पूर्व एमाले र पूर्व माओवादीका नेकपाका केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमै बाझाबाझ गर्दै आएका थिए ।















प्रतिक्रिया